setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पश्चिम एसिया तनाव : वैदेशिक रोजगारी रोकिने डर, जोखिममा २० लाख नेपाली

चैत ११, २०८२, बुधवार
पश्चिम एसियामा बढ्दो सैन्य तनाव

पश्चिम एसियामा बढ्दो सैन्य तनाव

चैत ११ गते । पश्चिम एसियामा बढ्दो सैन्य तनावले विश्व अर्थतन्त्रसँगै नेपालको वैदेशिक रोजगारी क्षेत्रमा गम्भीर प्रभाव पार्न थालेको छ । खाडी मुलुक, इजरायल, जोर्डन, लेबनान, इरान र प्यालेस्टाइन जस्ता क्षेत्रमा लाखौं आप्रवासी श्रमिक कार्यरत छन्, जसमा २० लाखभन्दा बढी नेपाली कामदार समावेश छन् । औपचारिक तथ्यांकमा १७ लाख नेपाली ती देशमा रहेको देखिए पनि अनौपचारिक रुपमा बसिरहेका समेत जोड्दा २० लाखजति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ती देशमा चर्किएको युद्ध र अस्थिरताले नेपाली श्रमिकको रोजगारी, आम्दानी र सुरक्षामा प्रत्यक्ष असर देखिन थालेको छ । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०८१र८२ को तथ्यांक अनुसार ८ लाख ३९ हजार २ सय ६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । उक्त तथ्यांक आधार मान्दा दैनिक २ हजार २ सय ९९ नेपाली वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । गत वर्ष खाडी मुलुकका ६ देश जहाँ हाल युद्धले प्रभाव पारेको छ, ती देशमा मात्रै दैनिक १ हजार ७ सय ७३ जना गएका थिए । यसरी हेर्दा नेपालको प्रमुख श्रम गन्तव्य मानिएका देशमा भएको तनावले त्यस क्षेत्रको वैदेशिक रोजगारीमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।