setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पूर्वराजा शाहले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली

चैत १८, २०८१, सोमवार

चैत १९ गते । प्रतिनिधिसभा र राष्ट्रिय सभामा सोमबार अलग–अलग सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनका क्रममा भएका आपराधिक कार्य गर्नेरगराउने कसैलाई पनि उन्मुक्ति नदिइने बताएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उक्त घटनामा उन्मुक्ति नपाउने बताए । तीनकुनेमा भएको तोडफोड र आगजनीमा शाह पनि जिम्मेवार रहेको उनको भनाइ थियो ।

पूर्वराजा शाहले चैत १४ मा दुर्गा प्रसाईंलाई निर्मल निवासमा डाकेको र त्यसपछि हिंस्रक घटनाहरू भएको प्रधानमन्त्री ओलीले बताए । ‘समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो,’ उनले भने, ‘प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ । पूर्वराजा शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौता उल्लंघन गर्नुभएको छ ।’

त्यही दिन विपक्षी दलहरूको समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा गरेको भव्य सभा शालीन भएको भन्दै प्रधानमन्त्रीले धन्यवादसमेत दिए । प्रधानमन्त्री ओलीले राप्रपाका सांसदहरूको पनि आलोचना गरेका छन् । संसदभित्र गणतान्त्रिक प्रणाली र संघीय लोकतन्त्रको विरोध गर्ने कुरा स्विकार्य विषय नभएको उनको भनाइ थियो । प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोल्दै गर्दा तीनकुने घटनाका सन्दर्भमा पूर्वराजा शाह जिम्मेवार रहेको भनेपछि राप्रपाका सांसदहरूले विरोध जनाएका थिए । त्यसपछि राष्ट्रिय सभामा बोल्न आएका ओली राप्रपा सांसदप्रति खनिएका थिए ।