प्रधानमन्त्री बालेन्द्र शाह
चैत २९ गते । प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमण गर्नेबारे दुई देशबीच सैद्धान्तिक सहमति भए पनि भ्रमण भने केही समयपछि मात्रै हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि दिएको बधाईपत्रमा भारत भ्रमणको निम्तो पनि गरेका थिए । त्यसको जवाफ फर्काउँदा नै प्रधानमन्त्री शाहले आफू ‘उचित समयमा भारतको भ्रमण गर्ने’ उल्लेख गरिएको परराष्ट्रमन्त्री शिशिर खनालले अनलाइनखबरलाई बताए ।
उनका अनुसार, भारतीय विदेशमन्त्री एस जयशंकरसँगको वार्तामा पनि प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति भएको थियो । यद्यपि मिति तय गर्नुअघि लामै तयारी बाँकी रहेको मन्त्री खनालले शनिबार साँझ अनलाइनखबरसँगको कुराकानीका क्रममा भने ।
‘अन्य दुईपक्षीय विषयसँगै दुई देशबीच उच्चस्तरीय भ्रमणका विषयमा पनि छलफल भएको हो । मिति नै तय भएको होइन’, परराष्ट्रमन्त्री खनालले बताए । मौरिससमा भइरहेको नवौँ हिन्द महासागर सम्मेलनमा भाग लिने क्रममा भएको साइडलाइन वार्ताका क्रममा खासगरी नेपालको निर्वाचन र त्यसपछि बनेको नयाँ सरकारका प्राथमिकताका बारेमा कुराकानी भएको थियो । त्यस क्रममा आफूले भारतीय विदेशमन्त्रीसँग नयाँ सरकारले नेपालको परराष्ट्र नीतिसँगै नेपाल–भारत सम्बन्धका विविध आयामबारे समीक्षा गरिरहेकोबारे जानकारी दिएको परराष्ट्रमन्त्री खनालले बताए ।