प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह
चैत १६ गते । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारमा सबै सचिवलाई बोलाएर निर्देशन दिएका थिए। नवनियुक्त प्रधानमन्त्रीले शपथलगत्तै सचिवहरूलाई के निर्देशन दिए भन्नेबारे सर्वसाधारण मात्र होइन, निजामती सेवाकै तल्लो तहका कर्मचारीलाई पनि चासो छ। हामीले प्रधानमन्त्रीको निर्देशन के हो भन्नेबारे विभिन्न मन्त्रालयका तीन जना सचिवसँग कुरा गरेका छौं।
उनीहरूले नाम उल्लेख नगर्ने सर्तमा दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले मन्त्रीहरूले भने अनुसार काम गर्न सचिवहरूलाई निर्देशन दिएका छन्। सरकारको गति, मर्म र निर्देशन अनुसार काम गर्न नसक्ने हो भने मार्गप्रशस्त गरिदिन पनि उनले भनेका छन्। त्यस्तै, मन्त्रीहरूले काम लगाउँदा नियम(कानुन देखाएर पन्छाउने वा मन्त्रीहरूलाई पढाउने काम नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
सचिवहरूसँग प्रधानमन्त्री बालेनको कुराकानी निकै छोटो समय चलेको थियो। उक्त बैठकमा सचिवहरूबाट आफ्नो कुरा राख्ने काम भएन। प्रधानमन्त्रीले एकोहोरो निर्देशन दिएको र त्यो बैठक निकै छोटो समय चलेको हामीले कुरा गरेका सचिवहरूले बताए। प्रधानमन्त्रीसँग भएका मिटिङमध्ये अहिलेसम्मकै छोटो यही हो,-एक सचिवले भने, -उहाँले आफ्नो कुरा राख्नुभयो, अरूले खासै केही भन्नुभएन। मन्त्रिपरिषदको शुक्रबारको पहिलो बैठकले शासकीय सुधारका १०० बुँदे कार्यसूची सार्वजनिक गरिसकेको छ। उक्त कार्यसूचीमा ७ देखि एक हजार दिनसम्मका काम तोकिएका छन्।