लोकप्रिय गायक प्रशान्त तामाङ
पुस २८ गते । इण्डियन आइडल सिजन–३ का विजेता तथा लोकप्रिय गायक प्रशान्त तामाङको निधनपछि दार्जिलिङका कलाकर्मीले उनको अन्त्येष्टि दार्जिलिङमै हुनुपर्ने माग गरेका छन् । कलाकर्मीको यही सामूहिक चाहना र आग्रहपछि दिवंगत तामाङको अन्त्येष्टि जन्मस्थल दार्जिलिङमै गरिने निर्णय भएको हो । ‘प्रशान्तको पार्थिव शरीर भोलि बिहान १२ बजे बागडोगरा विमानस्थलमा आइपुग्नेछ,’ दार्जिलिङका संगीतकर्मी महेश सेवाले भने, ‘त्यहाँबाट शव दार्जिलिङ लगिनेछ ।’
दार्जिलिङ पुर्याएपछि केही समय अन्तिम श्रद्धाञ्जलीका लागि गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिष्ट्रेसन (जीटीए) अन्तर्गतको सूचना तथा संस्कृति विभागमा राखिने सूचना तथा संस्कृति विभागका निर्देशक अनुज थापाले जानकारी दिए । जीटीएका प्रमुख अनित थापाले पनि दार्जिलिङमै प्रशान्त तामाङको अन्त्येष्टिका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ । उनले दार्जिलिङवासी, कलाकर्मी र शुभेच्छुकलाई श्रद्धाञ्जली अर्पण गर्ने अवसर मिल्ने गरी आवश्यक व्यवस्थापन भइरहेको पनि बताए ।
फिल्मकर्मी राजेश घतानीले प्रशान्तको योगदानलाई सामान्य रूपमा लिन नहुने बताउँदै जीटीएको निर्णयको स्वागत गरे । ‘प्रशान्त भनेका नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय रियालिटी शोसम्म पुर्याउने प्रेरणादायी व्यक्तित्व हुन् । गीत–संगीत र अभिनयमार्फत उनले संसारभरका नेपालीलाई जोड्ने काम गरे,’ उनले भने, ‘त्यसैले उनको योगदानलाई दार्जिलिङले नजर अन्दाज गर्न मिल्दैन ।’ दार्जिलिङका संगीतकार सेवाले पनि प्रशान्तको अन्त्येष्टि दार्जिलिङमै गर्ने निर्णयप्रति सन्तोष व्यक्त गरे । ‘प्रशान्त हाम्रो गौरव थिए । दार्जिलिङको माटोबाट उठेर विश्वभर नेपालीको पहिचान दिलाउने कलाकारलाई जन्मभूमिमा अन्तिम बिदाइ गर्न पाउनु ठूलो कुरा हो,’ उनले भने, ‘सम्पूर्ण कलाकर्मी एक भएर उनलाई सम्मानका साथ बिदाइ गर्ने तयारीमा जुटेका छौं ।’ दार्जिलिङको चौरास्ता मुन्तिर लोअर तुङसुङ बस्तीमा प्रशान्तको जन्मघर छ । तर, घर सुनसान छ । उनकी दिदी कोलकातामा र बहिनीको विवाह सिक्किममा भएको छ । आमाको गत वर्ष निधन भएको थियो । बुवा त उनी सानो छँदै बितेका थिए ।