असार १२ गते । एमाले केन्द्रीय कार्यालय दानमा बनाउने निर्णय गलत भएको भन्दै फरक मत राख्दा निलम्बनमा परेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा भएको छ । २०८१ पुसमा पाण्डे, तिम्सेना र नेता भीम रावललाई निलम्बन गरेकामा पाण्डे र तिम्सेनाको कारबाही फुकुवा गर्ने निर्णय केन्द्रीय सचिवालय बैठकले गरेको हो । रावल भने एमालेबाट बाहिरिइसकेका छन् ।
स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेना
बुधबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कारबाही फुकुवा गरी जिम्मेवारीमा फर्काउने निर्णय गरेको प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए । स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनालाई जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरिएको थियो । विवादास्पद व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गर्ने र त्यसमा गुरुङले नै एमाले मुख्यालय बनाइदिने भएपछि पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले विरोध गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले कीर्तिपुर–२ मैत्रीनगरमा गत असोज २५ मा पार्टी मुख्यालय भवन शिलान्यास गरेका थिए ।