फागुन १२ गत । जिल्लाको पाथीभरा मन्दिरमा मुक्कुमलुङ क्षेत्रमा केवलकार निर्माण खारेजको मागसहित शनिवार विरेन्द्रचोकमा पक्राउ परेका १५ जनालाई अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप भएको छ । प्रहरीले ११ पुरुषसहित ४ जना महिलागरि १५ जनालाई सदरमुकामस्थित विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी ४५ वर्षका नवीन पोमू छन् । शिवसतासी नगरपालिका २ झापा स्थायी घर भई बिर्तामोड नगरपालिका २ निवासी २० वर्षकी ईक्सा लिम्बू, अर्जुनधारा नगरपालिका ४ झापा निवासी २१ वर्षकी निहा चेम्जोङ पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ३ सुनसरी निवासी २३ वर्षका विवेक लिम्बू, सोही निवासी १९ वर्षका जुरन राई, इटहरी उपमहानगरपालिका २ निवासी ३२ वर्षका अर्जुन भन्ने बिर्ख बहादुर तामाङ, इटहरी उपमहानगरपालिका २० निवासी ३२ वर्षका अनुप सुब्बा, र इटहरी उपमहानगरपालिका १० निवासी १९ वर्षका विशेष सुब्बा रहेका छन् । ग्रामथान गाउँपालिका वडा नं. ६ मोरङ घर भई हाल सुन्दरहरैँचा नगरपालिका १० बस्दै आएका ५८ वर्षका तुलाराम तामाङ र उर्लाबारी नगरपालिका १ मोरङ निवासी ३९ को हरि लिम्बू गरी जम्मा १५ जना पक्राउ परेका छन् । यस्तै फिदिम नगरपालिका ११ पाँचथर निवासी २२ वर्षका एमन राई, फालेलुङ गाउँपालिका वडा नं. ८ घर भई हाल फिदिम नगरपालिका १ बस्दै आएका ४० वर्षकी सुनिता केरुङ रहेका छन् ।
हिलिहाङ गाउँपालिका वडा नं. ६ घर भई हाल अर्जुनधारा नगरपालिका ११ निवासी ४८ वर्षका मित्र लिङदेन र मिक्लाजुङ गाउँपालिका वडा नं. ५ घर भई इलाम नगरपालिका वडा नं. ७ निवासी ५१ वर्षका योगेन्द्र लावती रहेका छन् । आठराई गाउँपालिका वडा नं. ७ तेह्रथुम घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका ११ निवासी ३० वर्षकी दीक्षा भन्ने निर्मला बराल ९दर्नाल० पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदङ्गा गर्न नहुने र उक्त संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ बमोजिम जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक रवि रावलले बताए ।
शनिबार साँझ नो केबलका समूह र प्रहरीबिच झडप हुँदा २३ घाइते भएका छन् । झडपको क्रममा ११ जना प्रहरी सहित २३ जना घाइते भएका हुन् । ११ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये १ जना प्रहरी र ४ जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । २ जनाको पाँचथर अस्पतालमा र २ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।