पाँचथरमा आर्थिक वर्ष २०८१/८२ मा लडेर २५ जनाको मृत्यु भएको छ । भवितव्य ज्यान गुमाउनेमध्ये लडेर मृत्यु हुने सबैभन्दा बढी छन् । विशेषतः ग्रामीण क्षेत्रमा रातको समयमा पैदलयात्रा गर्नेहरूको लडेर ज्यान जाने गरेको छ । मेलापात, गाउँघर, छरछिमेकबाट घर फर्कँदा रातको समयमा धेरै मानिस लड्ने र ज्यान जाने गरेको छ ।
पाँचथर
गत आवको एकै वर्षमा २५ जनाले लडेर ज्यान गुमाएका हुन् । गाउँघरमा मादक पदार्थ सेवन गरी पैदलयात्रा गर्ने क्रमले पनि धेरैको अनाहकमा ज्यान जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले बताए। घाँसदाउरा गर्न, पशु चराउन गएकाहरू पनि अचानक लडेर ज्यान जाने गरेको छ । ग्रामीण क्षेत्रमा दुर्घटनामा परेकाहरूको उद्धारसमेत समयमा हुन नसक्दा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । गत आवमा कारण नखुली १४ जनाको अकस्मात ज्यान गएको छ । यसैगरी अचानक बिरामी भएर र खोलाले बगाएर छ–छ जना, आगोले जलेर, अरिङ्गालले टोकेर र करेन्ट लागेर दुई–दुई जनाको ज्यान गएको प्रनाउ बुढाथोकीले जानकारी दिए। यसैगरी चट्याङ लागेर, रुखले किचेर, सवारीसाधनबाट र पहिरोमा परेर एक–एक जनाको ज्यान गएको छ ।
गत वर्ष पाँचथर प्रहरीमा दुई सय ३२ वटा मुद्दा दर्ता भएका छन् । जसमा सबैभन्दा बढी भवितव्य ज्यानका ६२ वटा छन् । यस्तै आत्महत्याका घटनालाई समेत प्रहरीले मुद्दाका रूपमा दर्ता गर्ने गरेको छ । गत वर्ष आत्महत्याका ४८ तथा अभद्र व्यवहारका २७ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी बैंकिङ कसुरका र जबर्जस्ती करणीका १२–१२ वटा, ज्यान मार्ने उद्योगका १० वटा, लागुऔषधसम्बन्धी र फुटकर ज्यानसम्बन्धी नौ–नौवटा, बाल यौन दुव्र्यवहारका छवटा, ज्यानसम्बन्धी र बहुविवाहका पाँच–पाँचवटा, सवारी ज्यान, चोरी र ठगीका समान चार–चारवटा मुद्दा दर्ता भएका छन् । विगतका चार आवमा मुद्दा दर्ता सङ्ख्या करिब स्थिर रहेको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो । आव २०७८ र ७९ मा दुई सय ३५ वटा, २०७९ र ८० मा दुई सय ३४ र २०८०र८१ मा दुई सय ३७ मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । पाँचथर प्रहरीले जिल्लामा अपराधको प्रवृत्ति र दरका आधारमा कार्ययोजना निर्माण गरी काम गर्दै आएको प्रनाउ बुढाथोकीले जानकारी दिए।