setoveda logo
४ वैशाख २०८३, शुक्रवार

पाँचथरका मतदाता भन्छन्,–‘नरेन्द्र केरूङ जन्ती–मलामीमा देखिने व्यक्ति हुन्, भोट कसरी नदिनु !’

फागुन १०, २०८२, आइतवार
पाँचथरमा नेपाली काग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ

पाँचथरमा नेपाली काग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ

फागुन ६ गते । पाँचथरमा प्रतिनिधि सभा निर्वाचन यसपटक भूगोल, पहुँच र उपस्थितिको प्रतिस्पर्धामा रूपान्तरित भएको छ। उत्तरका बर्मे क्षेत्रदेखि दक्षिणतर्फ टोकासम्म घरदैलो अभियान चलाउँदै नेपाली कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य नरेन्द्रकुमार केरूङ सक्रिय रूपमा मतदाताबीच पुगेका छन्। पाँचथरको विकट भूगोल सहज छैन। छरिएका बस्ती, कमजोर सडक र टाढाटाढा फैलिएको बसोबासबीच उम्मेदवारले सम्पूर्ण क्षेत्र समेट्नु चुनौतीपूर्ण मानिन्छ। तर केरूङले उत्तर–दक्षिण जोड्ने अभियान अघि बढाएपछि चुनावी माहोल थप तातिएको छ।

घरदैलोका क्रममा एक युवा मतदाताले भने, “चुनाव आयो भनेर मात्रै होइन, पहिले पनि हाम्रो सुख–दुःखमा देखिने मान्छे हो। जन्ती–मलामीमा सधैं भेटिने पात्र उम्मेदवार बनेपछि टाढा बस्नुभएको छैन। भोट किन नदिने ?” दक्षिण क्षेत्रकी एक ज्येष्ठ महिला मतदाता भन्छिन्, “हाम्रो गाउँसम्म आइपुग्नु नै ठूलो कुरा हो। बाटो असजिलो छ, सुविधा छैन। तर आएर बसेर कुरा गर्नुभयो। हामीलाई चुनावपछि पनि भेटिने प्रतिनिधि चाहिएको हो।”

राजनीतिक विश्लेषणमा यसपटक पाँचथरका मतदाताले नाराभन्दा व्यवहारलाई महत्व दिन थालेको देखिन्छ। ‘को कति पुगेको छ ?’ र ‘को कति उपलब्ध छ ?’ भन्ने प्रश्न चुनावी बहसको केन्द्र बनेको छ। केरूङले आफू पाँचथरको शिक्षा, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन्। उनका अनुसार “विश्वास जित्नु नै पहिलो लक्ष्य हो।” बहुपक्षीय प्रतिस्पर्धाबीच पाँचथरमा अब स्पष्ट संकेत देखिएको छ—जनताबीच निरन्तर उपस्थिति देखाउने उम्मेदवार नै मतदाताको मूल्याङ्कनको केन्द्रमा पर्न सक्छ। अब निर्णय मतदाताको हातमा छ—निरन्तर उपस्थितिलाई रोज्ने कि परम्परागत समीकरणलाई ? यसको उत्तर भने मतगणनापछि मात्रै स्पष्ट हुनेछ।