setoveda logo
४ वैशाख २०८३, शुक्रवार

१५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा ताप्लेजुङका १५ सय विद्यार्थीको नृत्य एकसाथ देखाइने

माघ २५, २०८१, शुक्रवार

ताप्लेजुङ — यसवर्ष हुने १५औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । मैवाखोला गाउँपालिकाको केन्द्र साँघुको मैदानमा हुने प्रतियोगितामा सात सय बढी विद्यार्थी खेलाडी सहभागी हुँदैछन् ।

चार दिनसम्म चल्ने प्रतियोगिताको उद्धघाटन सत्रलाई भव्य बनाउन गाउँपालिकाले १५ सय विद्यार्थीको सहभागितामा सातै प्रदेशको झल्को दिनेगरी सांस्कृतिक नृत्यसहितका कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

प्रतियोगिताको व्यवस्थापन गरेको गाउँपालिकाले आफ्नो पालिकाका खेलाडीका लागि भने एक लाख रुपैयाँको बीमा गरिदिएको छ । खेलका क्रममा घाइते वा कुनै दुर्घटना भए त्यसका लागि बीमा गरिदिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।

जिल्ला खेलकुद विकास समितिका अनुसार यसरी बीमा गरिएको यो पहिलो पटक हो । गाउँपालिकाले उद्धघाटनको दिन एक दिनका लागि पालिकामा स्थानीय बिदा पनि दिएको छ ।

खेलाडीको हौसला बढाउनका लागि आफ्नो पालिकाबाट स्वर्ण पदक जित्नेलाई पाँच हजार नगद पुरस्कारको घोषणा पनि गाउँपालिकाले गरेको छ । प्रतियोगिता ३० गतेसम्म चल्ने छ । प्रतियोगितामा खेलाडीबाहेक अफिसियल एक सय जना हुनेछन् । उद्धघाटनको दिन १५ सय विद्यार्थीलाई एकैसाथ नृत्य गराउने तयारी गाउँपालिकाको छ ।-ekantipur