३५औं प्याब्सन दिवसः शिक्षकतर्फ कविता राई र विद्यार्थी रमियुका राई सम्मानित
पुस २४ गते । नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन ताप्लेजुङको आयोजनामा ३५औं प्याब्सन दिवसको अवसरमा शिक्षक र विद्यार्थी सम्मानित भएका छन् । शिक्षकतर्फ कविता राई र विद्यार्थीतर्फ रमियूका राई सम्मानित भएका हुन् । ताप्लेजुङ सिद्धार्थ एकेडेमीमा २०६६ सालदेखि आबद्ध राईलाई नगद दश हजार रुपैयाँ,सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । यसैगरि राईले कंञ्चनजंघा बोर्डिङ स्कुलबाट २०८१ को एसईई परीक्षामा ३.७८ जीपीए ल्याएकी थिइन् । राईका बुवा रमेश राईले छोरीको सम्मान ग्रहण गरे । प्याब्सन केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमूख अतिथि दिनेश भट्टराई,प्याब्सन जिल्ला अध्यक्ष देवराज गुरुङ,पूर्व केन्द्रिय सदस्य युवराज गीरी,कोसी प्रदेशका पूर्व सहकोषअध्यक्ष दिनेश प्रसाई र पूर्व जिल्ला अध्यक्ष इन्द्र कुमार गुरुङले सम्मान गरे । सम्मान ग्रहणगर्दै रमेशले भने,-‘छोरीसहित परिवार खूसी छौ । छोरीको पढाई राम्रो हुनुमा शिक्षक र विद्यालयको योगदान छ ।’
शुभकामना सन्देश
प्याब्सन पूर्व जिल्ला अध्यक्ष समेत रहेका गीरीले २०६० सालमा ताप्लेजुङमा प्याब्सन स्थापनादेखि यताको आरोह अवरोहवारे स्मरण गराए । केन्द्र प्याब्सनको स्थापना २०४७ सालमा भएको हो । यद्यपी जिल्लामा १३ वर्षपछि मात्र स्थापना भएको हो । प्याब्सनका सल्लाहकार समेत रहेका प्रसाईले विगत र वर्तमान अवस्थाबारे संक्षेपमा चर्चा गरे । पूर्व अध्यक्ष गुरुङले प्याब्सन विद्यार्थी र अभिभावकप्रति सदैव जवाफदेही भएर काम गर्ने गरेको अनुभव सुनाए । जिल्ला अध्यक्ष देवराज गुरुङले केन्द्रबाट पठाएको शुभकामना सन्देश वाचन गर्दै सबैमा शुभकामनासहित धन्यबाद ज्ञापन गरे । विगतमा धेरै जमघटसहित बाहिर कार्यक्रम गर्ने गरेको थियो । यद्यपी यसवर्ष अध्यक्ष गणेश सिग्देलको निधन भएकाले बाहिर तामझामका साथ कार्यक्रम नगरेको प्याब्सनले जनाएको छ ।