setoveda logo
४ वैशाख २०८३, शुक्रवार

ओडिसाको केआईआईटीकी विद्यार्थी मृत फेला, सबै नेपाली विद्यार्थीलाई घर फर्काइयो

फागुन ५, २०८१, सोमवार

फागुन ५ गते । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी-टेक अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार आत्महत्या गरेकी छन् ।

भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुर्व्यवहार सहन नसकेपछि केआईआईटी बी(टेक तेस्रो वर्षमा अध्ययनरत लम्सालले आत्महत्या गरेकी हुन् । दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गरेपछि कलेज प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारी गरेको छ ।

साँझ ४(५ बजे आत्महत्याको खबर विश्वविद्यालयमा फैलिएको र तुरुन्तै उनलाई किम्स अस्पताल लगिएको एक नेपाली विद्यार्थीले जानकारी दिए । राति १० बजेदेखि होस्टेलमा प्रदर्शन सुरु भएको र सोमबार बिहान सबैलाई ‘डिपोर्ट’ गर्न थालिएको उनले बताए । ‘म खाजा खान मेसतिर जाँदै थिएँ, वार्डेनले तिमीहरू घर फर्कनुपर्छ भने,’ उनले भने, ‘जान नमान्नेलाई सेक्युरिटी गार्डले कुटे ।’

कान्तिपुरको सम्पर्कमा आएका विद्यार्थीहरूका अनुसार ५ सयभन्दा धेरै नेपाली विद्यार्थीलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेसनमा ल्याएर छोडिदिएको छ । नेपाल आउने ट्रेन बिहीबार मात्र चल्ने भएकाले आफूहरू अलपत्र परेको उनीहरूले बताए ।

‘हामीहरूले प्रकृतिका लागि न्यायको माग गर्दै शान्तिपूर्ण रूपमा विरोध गरिरहेका थियौँ तर प्रशासनले हाम्रो आवाज दबाउन खोजेको छ,’ अर्का एक विद्यार्थीले इमलेमार्फत भनेका छन्, ‘यो केबल प्रकृतिका लागि न्याय माग्ने विषय मात्र होइन, यो संस्थागत लापर्बाही र शैक्षिक संस्थाहरूमा विदेशी विद्यार्थीहरूको सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाउने घटना पनि हो ।’

हाल विश्वविद्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ । प्रकृतिका परिवार घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् ।

केआईआईटीमै कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका अर्का नेपाली विद्यार्थीका अनुसार लम्सालमाथि श्रीवास्तवले बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए । उनीमाथि भएको दुर्व्यवहारबारे नेपाली विद्यार्थीहरूको एक समूहले आइतबार राति इन्टरनेसनल रिलेसन्स (आईआर) अफिसमा उजुरी गरेका थिए ।

ुहामी ती विद्यार्थीमाथि कारबाहीका लागि आइतबार राति करिब ९।३० बजे अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा उजुरी दिन गएका थियौं । तर कारबाही त परै जाओस्, हाम्रो कुरा पनि सुनिएन,ु कम्प्युटर इन्जिनियरिङ अध्ययनरत उनले कान्तिपुरसँग भने ।

लम्सालमाथि श्रीवास्तवले यसअघि पनि दुर्व्यवहार गरेका थिए । तर त्यतिबेला भने कलेज प्रशासनले कारबाहीस्वरूप ती विद्यार्थीलाई केही दिनका लागि निलम्बन गरेको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरिसकेको र घटनाबारे छानबिन सुरू गरेको छ ।

केआईआईटीले एक विज्ञप्ति जारी गर्दै बी-टेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले आइतबार छात्रावासमा आत्महत्या गरेको जनाएको छ । ुबी-टेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले हिजो छात्रावासमा आत्महत्या गरेकी छिन् । उनको केआईआईटीमा अध्ययनरत अर्का विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको आशंका गरिएको छ,ु सूचनामा भनिएको छ । घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराएको केआईआईटीले जनाएको छ ।

केआईआईटीका रजिस्ट्रारले जारी गरेको सूचनामा सबै नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि तत्काल कलेज छात्रावास छाड्न भनिएको छ । सूचनापछि करिब एक सय विद्यार्थी नेपाल हिँडेका एक विद्यार्थीले जनाएका छन् । अन्य विद्यार्थीले आफैं व्यवस्था गरेर कलेजबाहिर बसिरहेका छन् । केआईआईटीमा हाल नेपाली ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । e-kantipur