setoveda logo
२१ जेठ २०८३, बिहिवार

नेपालमा रक्सीका कारण हुने समस्या बढ्दो, विज्ञापन गर्न नपाइने भए पनि घुमाउरो शैली प्रयोगमा

मंसिर २९, २०८२, सोमवार
सांकेतिक तस्बिर

सांकेतिक तस्बिर

मंसिर २९ गते । नेपालमा रक्सी खाएका कारण विभिन्न किसिमका समस्याहरू बढिरहेका विज्ञहरूले बताएका छन् । स्वास्थ्य सचिव डा। विकास देवकोटाका अनुसार रक्सीका कारण हिंसा र सडक दुर्घटना बढ्नुका साथै व्यक्तिमा नसर्ने रोग र मानसिक समस्या पनि बढिरहेको छ । यस्तै रक्सीले व्यक्तिको काम गर्ने क्षमता घटाएर परिवार र सिङ्गो राष्ट्रकै अर्थतन्त्रमा पनि भार बढिरहेको छ । अध्ययन अनुसार नेपालमा हुने कुल घरायसी खर्चमध्ये ५ प्रतिशत अल्कोहलमा खर्च हुने गरेको छ भने रक्सीमा हुने खर्च फलफूलको भन्दा धेरै छ । सन् २०१९ को तथ्याङ्क अनुसार नेपालमा ११ लाख वयस्क मानिस रक्सीको कडा सेवनकर्ता रहेका छन् ।

यस्तै अहिले १२ हजार ५७ जना मानिस अल्कोहलका कारण पुनर्स्थापना केन्द्रमा बसेर उपचाररत रहेको रिचमन्ड फेलोसिप नेपालका विष्णु फुँयालले बताउनुभयो । उहाँका अनुसार अल्कोहलले कडा खालको असर गरेकाहरूको सङ्ख्या वर्षेनि बढिरहेको छ । रक्सीको विज्ञापन गर्न नपाइने व्यवस्था भए पनि उत्पादकहरूले घुमाउरो रूपमा विज्ञापन गर्दा प्रयोगकर्ता बढिरहेका छन् । रक्सीले परिवारमा हिंसा, समाजमा बेमेलदेखि अर्थतन्त्र र स्वास्थ्यमा असर बढाइरहेकोले रक्सीको प्रयोग घटाउनका लागि नियन्त्रण तथा नियमन ऐन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

नेपाल मदिरा निति सञ्जाल (नापा) का राष्ट्रिय अध्यक्ष सुधालाल मुल्मी अल्कोहलको अनियन्त्रित रूपमा भइरहेको प्रयोगलाई नियमन गर्न अत्यन्तै जरुरी रहेको बताउनुहुन्छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गाना पनि अल्कोहलको प्रयोग न्यूनीकरण तथा नियन्त्रण नियमनका लागि कानून अपरिहार्य रहेको र यसका लागि प्रयास भइरहेको बताउनुहुन्छ ।