फागुन ६ गते । जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा/मुक्कुमलुङमा फागुन ६ देखि ८ गतेसम्म पैदलयात्रा कार्यक्रम तय छ । सम्पदा संरक्षणका लागि जिल्लाबाहिरबाट समेत आउन थालेका छन् । मंगलबारदेखि नै पाथीभरा क्षेत्रमा पैदलयात्राका लागि आएका छन् । नो केबलकार समूहका अगुवामध्येका एक नविन पोमूले भने,‘बाहिरबाट साथीहरु आउने क्रममा छन् । शान्तिपुर्ण र्यालीका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।’ केबलकार खारेज मुख्य सर्त यथावत रहेको पोमूले बताए । मानव र चराचर जगतको कल्याणसहित पाथीभरा मुक्कुमलुङमा विधिपूर्वक पुजा कार्यक्रम समेत सुरु भएको छ ।
फागुन ८ गते फर्कने कार्यक्रम तालिका छ । सरकारले शान्तिपुर्वक आन्दोलनका क्रममा माघ १२ गते गोली हानि घाइते बनाएको,अभद्र व्यवहार गरेको र केबलकारकै पक्षमा काम गरेको भन्दै आन्दोलनरत पक्षले गुनासो गरेका छन् । माघ १५ गतेदेखि माघ २२ गतेसम्म आव्हान गरेको यातायात बन्दका क्रममा पनि आफूहरुलाई दुख दिएको अगुवा सरोज कङलिवाले बताए । केबलकार खारेजी संयूक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बोले आफुहरुले सम्पदा जोगाउन गरेको मेहनतको विषयमा चुपचाप बस्नेहरुप्रति गुनासो पोखे । फेम्बोले भने,‘भाषा,धर्म,संस्कार र संस्कृति हाम्रो साझा सम्पत्ति हो । जोगाउनका लागि हामी मात्र खटिनुपर्दा दुख लाग्छ ।’ यद्यपी आफूहरुको आन्दोलन सरकारले जति दमन गर्यो उति नै चर्कने फेम्बोको तर्क छ । आन्दोलनरत पक्षले धरानमा केबलकार पक्षधर पदमचेन्जी माबोलाई कालोमोसो दल्दा विभिन्न आक्षेप लगाएको गुनासो गरेका छन् । आन्दोलनरत पक्षले सामाजिक सञ्जालमा लेखेका छन्,–‘हाम्रो मान्छेलाई छातीमा गोली लागेको छ । कसैले विचारा भनेनन् । एउटा मान्छेलाई मोसो दल्दा के के नै गरेझै आरोप लगाउँछ ।’ भावी सन्ततीप्रति इमान्दार भएर आन्दोलन गर्ने नो केबलकार पक्षको प्रतिज्ञा छ ।