माघ २७ गते । जिल्लाको मैवाखोला गाउँपालिकामा आइतबारदेखि १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । कोशी प्रदेशका सांसद तथा पूर्व अर्थमन्त्री इन्द्र आङ्बो (मौसम) ले दिप प्रज्वलन गरेर प्रतियोगीताको उद्घाटन गरे । मैदानको एकापट्टि निर्माण गरेर राखिएको सिलाम साक्माको कपडा प्रमूख अतिथि आङ्बोले डोरीको सहारामा खोलेपछि अवलोकन गर्न मिल्नेगरि तयारी गरेको थियो । बाँस,कपडा र डोरीले निमित्त सिलाम साक्माको उचाई ५४ फिटको छ । मैदानभित्र विद्यार्थीको प्रस्तुती तथा मार्च पासले दर्शक अड्याउन सकेको थियो । मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले खेल मनोरञ्जनको साधन मात्र नभएर स्वास्थ्यका लागि महत्वपूर्ण रहेको बताए । स्वागत मन्तव्य व्यक्त गर्दै वनेमले भने,‘खेलकुद माध्यम हो । खेलको माध्यमबाट संस्कार र संस्कृति जोड्न सक्छौ । पर्यटन जोड्न सक्छौ ।’ प्रतियोगीता सफल बनाउन मैवाखोला आएका सबैप्रति आभार प्रकट गर्दै आफूहरुले व्यवस्थित रुपमा खेल सम्पन्न गर्न भरमग्दुर कोसिस गरेको बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष नरेन्द्र कुमार लिम्बु (गणेश) का अनुसार हरेक वर्ष प्रतियोगीताको व्यवस्थापन र खेलाडीमा उत्साह बढ्दो छ । अध्यक्ष लिम्बूले भने,‘खेलाडी उत्पादन गर्ने थलो हो । त्यही भएर प्रतियोगीतालाई महत्व दिन सक्नुपर्छ ।’
प्रतियोगीतामा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त वहादुर कार्की र बाँकी गाउँपालिकाका उपाध्यक्ष सहभागी थिए । फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेन र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ती) र उपाध्यक्ष रविन साम्रा (विकास) अनुपस्थित थिए । नगरपालिका उपप्रमूख भिमादेवी ओझा उपचारत रहेकाले जान सम्भव नभएको हो । राजनीतिक दल र जनप्रतिनिधिले संक्षेपमा मन्तव्य दिए ।
फुङलिङ नगरपालिका,पाथीभरा याङवरक गाउँपालिका,सिदिङ्मा गाउँपालिका,सिरीजङ्गा गाउँपालिका,फक्ताङलुङ गाउँपालिका,आठराई त्रिवेणी गाउँपालिका,मेरिङदेन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका खेलाडी तथा शिक्षक मैवाखोला पुगेका छन् । करिब सात सय विद्यार्थी मैवाखोलामा छन् । श्री नारायणी माध्यमिक विद्यालयको खेलमैदानमा खेल हुँदैछ ।