मैवाखोलाको ५४ फिट अग्लो सिलाम साक्मा, सामाजिक सञ्जालमा भाइरल
माघ २७ गते । मैवाखोला गाउँपालिकाको केन्द्र हो, साँघु । साँघुमा नाइन साइजको खेल मैदान छ । यो त्यही खेल मैदान हो, जहाँ नेपालका चर्चित क्लब र खेलाडीले खेल खेलेका छन् । महाशिव रात्रीको बेला अहिले पनि फुटबल खेल आयोजना हुन्छ । तर पहिलेजस्तो न त क्लब आउँछ, न त खेलाडी नै । तैपनी फुटबल क्रेज घटेको छैन् । सदरमुकामदेखि जाँदाखेरि मैदानको देब्रेपटि मिल्के जलजले जाने सडक छ । सडकसँगै घर छन् । प्रायः घरहरुमा होटल र किराना पसल छन् । दाहिनेपट्टि गाउँपालिका कार्यालय र नारायणी माध्यमिक विद्यालय छन् । त्यही साइटमा औसी पुर्णे हाट पनि लाग्छ । घर र पसलहरु पनि छन् । मैदानस्थित स्टेजको अगाडी सिलाम साक्माको चित्र बनाइएको छ । सिलाम साक्माको उचाई ५४ फिटको छ ।
वजन करिब १ हजार ५ सय केजी जति होला । बाँस,कपडा र धागोद्धारा निर्मित सिलाम साक्मा बनाउन आयोजकले अति नै मेहनत गरेको छ । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार गएराती अबेरसम्म लगाएर बनाएको हो । अध्यक्ष वनेमले भने,‘राती काम गर्ने क्रममा बाँस पड्कियो । तैपनी सबै मिलेर रात नभनी बाँस ल्याएर बनाउन सफल भयौ ।’ कोरियोग्राफर छेन्डुप लामा औधी खूसी देखिए । लामाले भने,‘विद्यार्थीले पनि राम्रो नृत्य गरे । जसरी सिलाम साक्माको चित्र ठड्याउन सक्यौ । उसैगरि मैदानमा पनि विद्यार्थीहरु सिलाम साक्माको आकारझै देखिनेगरि नाच्न सकेँ ।’ विद्यार्थीले ७ वटा प्रदेशको प्रतिनिधित्व हुने गरि ७ वटा गीतमा नृत्य गरे ।
यतिका आकारको सिलाम साक्मा बनाउन कडा मेहनत जरुरी थियो । त्यही भएर उनीहरुले मरिहत्ते गरेर सिलाम साक्मा बनाउने काम फत्ते गरेरै छाडे । अन्ततः १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको आइतबार उद्घाटन सत्रमा सिलाम साक्माको चित्र आकर्षक रह्यो । स्टेजको कार्यक्रम कतिबेला सकिएला र फोटो खिचौला भन्ने हतारो जो कोहीमा भएको आभास हुन्थ्यो । मैदानमा सिलाम साक्माकै जस्तो चित्र देखिनेगरि विद्यार्थीको आकार बन्यो । लाग्थ्यो,मैदानमा विद्यार्थीहरु मैदानमा नाचिरहेका छैनन् । उनीहरु सिलाम साक्मा बनेका छन् । चित्रमा लेखिएको छ,–सिलाम साक्मा हाम्रो सभ्यता हो । सिलाम साक्मा लिम्बु समुदायको लागि नौलो होइन् । तर दुनियाँलाई यसको महत्व बुझाउन सक्नु उपलब्धि हो । किनकी २१औं शताब्दीको युग हो । हात हातमा मोबाइल छ । क्लिक गरेको कतिपय तस्बिर क्षणभरमै भाइरल बन्छ । प्रचारमा मदत हुन्छ । साँघुमा खिचेको सिलाम साक्माको तस्बिर भाइरल बनेको छ ।