उज्यालो नेपाल पार्टीका उम्मेदवार कृतीमान मादेन
फागुन १४ गते । ताप्लेजुङमा उज्यालो नेपाल पार्टीका उम्मेदवार हुन्,–कृतीमान मादेन । २०६२ सालदेखि राजनीतिमा होमिएका छन् । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको तर्फबाट उम्मेदवार बनेका ६५ वर्षीय मादेन चुनावी घरदैलोमा व्यस्त छन् । चुनावी वहस कार्यक्रम ताप्लेजुङका तीन वटै रेडियोबाट प्रसारण हुन्छ । हरेक दिन विहान ७ः १५ बजेदेखि ८ बजेसम्म प्रसारण हुन्छ । विहिबार विहानको वहस कार्यक्रममा सहभागी थिए,–मादेन । तपाई र तपाईको दललाई किन मतदान गर्ने भन्ने प्रश्नमा मादेनले विगतको लोडसेडिङ स्मरण गराए । मादेनले भने,‘अन्धकार हटाउँदा कुलमान घिसिङ सम्झने अनि उज्याले भएपछि विर्सने ? पाप लाग्न सक्छ । त्यही भएर जनताले मत दिनेमा ढुक्क छु ।’ पाथीभरामा केबलकार निर्माणको विवाद अझै समाधान हुन सकेको छैन् । उनले भने,‘केबलकार निर्माण पक्ष र आन्दोलनरत पक्षबिच सहमति गराउनुपर्छ । त्यो भनेको बन्न पनि सक्छ, नबन्न पनि सक्छ ।’ केबलकार बनाउन नहुने पक्षको नेतृत्वकर्तामध्ये एक हुन्, मादेन पनि । लिम्बुवान आबद्ध पार्टी र जनता समाजवादी पार्टीमा पनि काम गरेको उनीसँग अनुभव छ । तर यो पटकको चुनावमा धेरै मेहनत गर्न नपाएको मादेनले बताए । समय कम हुँदा संगठन निर्माण गर्न नपाएको उनले बताए ।