साउन २३ गते । ‘अबकी बार, ट्रम्प सरकार ।’ अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा सन् २०१९ को सेप्टेम्बरमा भएको भारतीय–अमेरिकनहरूको एक विशाल सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाएको नारा हो यो । ह्युस्टनको एनआरजी स्टेडियममा उपस्थित ५० हजारभन्दा बढीको उपस्थितिमा भएको सो कार्यक्रम ‘पोप’बाहेक कोही पनि विदेशी नेता सहभागी भएको अमेरिकाको सबैभन्दा ठूलो कार्यक्रम थियो । अर्को वर्ष सन् २०२० मा राष्ट्रपतिका लागि नयाँ निर्वाचन हुँदै थियो । त्यसअघि तत्कालीन राष्ट्रपति ट्रम्पसँगै काँधमा काँध मिलाएर सभालाई सम्बोधन गर्दै मोदीले ‘अबकी बार, ट्रम्प सरकार’ भन्दै खुला रुपमा उनलाई समर्थन गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प
सन् २०२० को चुनाव ट्रम्पले हारे तर मोदीले निरन्तर ट्रम्पलाई आफ्नो निकटको मित्रका रुपमा प्रस्तुत गर्ने गरेका थिए । तर, सन् २०२४ मा भएको निर्वाचनमा ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भए, जसमा भारतीय मूलका अमेरिकीको योगदान पनि महत्वपूर्ण मानिन्छ । ट्रम्पले पहिलो कार्यकालमा चीनलगायत मुलुकसँग व्यापार युद्ध सुरु गरेका थिए । तर, भारतसँगको सम्बन्ध सौहार्द रह्यो । यसपटक भने संसारका अनेक देशलाई उच्च भन्सार लगाएर उनले व्यापार युद्धलाई चरमोत्कर्षमा पुर्याएका छन् । अझ आफ्ना निकट मित्र मानिएका मोदीको भारतमाथि त ५० प्रतिशत भन्सार पुर्याएर कठोर व्यापार युद्ध छेडेका छन् ।
ट्रम्पले जस्तालाई त्यस्तै भन्सार (रेसिप्रोकल ट्यारिफ) भनेर भारतलाई २५ प्रतिशत भन्सार पहिल्यै लगाएका छन्, जुन बिहीवारबाट कार्यान्वयनमा आयो । ट्रम्प त्यतिमै रोकिएका छैनन्, भारतले रुसबाट तेल किनेको भन्दै उनले थप २५ प्रतिशत भन्सार लगाइदिए, जुन २१ दिनपछि लागू हुनेछ । भारतकै लागि भनेर बुधवार राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा सही २५ प्रतिशत भन्सार थपिदिएका हुन्, अब अमेरिकाले भारतमाथि यसअघि लगाउँदै आएको भन्सार ५० प्रतिशत पुग्नेछ । अर्थात् यसअघि लाग्दै आएको भन्सारमा ५० प्रतिशत थपिनेछ । ‘भारत सरकारले रसियन फेडेरेसनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तेल आयात गरिरहेको मैले पाएँ,’ ट्रम्पले कार्यकारी आदेशमा लेखेका छन् । यो अमेरिकाले कुनै पनि व्यापारिक साझेदारलाई लगाएको सबैभन्दा उच्च भन्सारदर मध्येमा पर्छ ।
राष्ट्रपति ट्रम्प रुसलाई दबाब दिएर युक्रेनमाथिको आक्रमण रोक्न चाहन्छन् । त्यसका लागि उनले रुससँग व्यापारिक कारोबार गर्ने मुलुकहरूलाई दण्डित गर्ने बताउँदै आएका थिए । अमेरिका तथा अन्य पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाइरहँदा भारतले उसबाट पेट्रोलियम पदार्थ किनिरहेकोमा अमेरिका विगतदेखि नै खुसी थिएन । अहिले भारतलाई रुसबाट तेल किन्न बन्द गर्न पटकपटक अनुरोध गरे पनि भारतले त्यो नमानेपछि २५ प्रतिशत भन्सार थपेका हुन् । यसरी ट्रम्पले एकैपटक भारतमाथि ५० प्रतिशत भन्सार बढाएपछि घनिष्ठ मित्र मानिएका भारत र अमेरिकाबीच कूटनीतिक सम्बन्ध इतिहासकै सबैभन्दा तल्लो तहमा पुगेको कूटनीतिज्ञहरूले बताएका छन् ।