setoveda logo
४ वैशाख २०८३, शुक्रवार

मानव-बाघ सहअस्तित्व प्रवर्द्धन गर्न सम्झौतामा हस्ताक्षर, द्वन्द्व कम हुने अपेक्षा

माघ २८, २०८२, बुधवार

माघ २८ गते । वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालबीच नयाँ ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी-८ (जिइएफ-८) द्वारा वित्तपोषित ‘नेपालमा मानव-बाघ अन्तरसम्बन्ध व्यवस्थापन’ परियोजना कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

 ‘नेपालमा मानव-बाघ अन्तरसम्बन्ध व्यवस्थापन’ परियोजना कार्यान्वयन

 ‘नेपालमा मानव-बाघ अन्तरसम्बन्ध व्यवस्थापन’ परियोजना कार्यान्वयन

वनमन्त्री माधवप्रसाद चौलागाईंको उपस्थितिमा आज हस्ताक्षर भएको कूल ४४ लाख ९८ हजार ३१८ अमेरिकी डलर लागतको यो परियोजना पाँच वर्षसम्म वन मन्त्रालयद्वारा कार्यान्वयन गरिने छ । जसमा डब्लुडब्लुएफले जिइएफ एजेन्सी तथा साझेदारको भूमिका निर्वाह गर्ने मन्त्रालयले जनाएको छ । यो सम्झौता २५ जनवरी २०२६ मा अर्थ मन्त्रालयका सहसचिव डा धनीराम शर्मा र डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङबीच सम्पन्न भएको वित्तीय सम्झौताको निरन्तरता हो ।

हस्ताक्षर सम्झौताले नेपालका बाघ बासस्थान क्षेत्र भएका निकुञ्ज र मध्यवर्ती क्षेत्रहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्वलाई सम्बोधन गर्दै मानिस र बाघबीच सहअस्तित्व प्रवद्र्धन गर्ने प्रयासमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको अपेक्षा गरिएको छ । परियोजनाले चार एकीकृत घटकमार्फत वासस्थान व्यवस्थापन सुदृढीकरण, वैकल्पिक जीविकोपार्जन प्रवर्द्धन, र ज्ञानमा आधारित व्यवस्थापन प्रणाली सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने सम्झौतामा उल्लेख छ ।

मानव–वन्यजन्तु सहअस्तित्वका नमुना विकास गर्ने लक्ष्य

सो अवसरमा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा गुरुङले यस पहलमार्फत समुदाय–नेतृत्वमा परिवर्तनलाई प्रोत्साहन गर्दै दिगो मानव–वन्यजन्तु सहअस्तित्वका नमुनाहरू विकास गर्ने लक्ष्य राखेको बताए । यसलाई एसियाका अन्य बाघ पाइने मुलुकहरूमा विस्तार तथा पुनरावृत्ति गर्न सकिने उहाँले जानकारी गराए । “यो परियोजना मानिस र बाघबीच सहअस्तित्वको साझा दृष्टिकोणको प्रतिविम्ब हो । बढ्दो मानव–वन्यजन्तु द्वन्द्वलाई सम्बोधन गर्न वन मन्त्रालय र नेपाल सरकारसँग साझेदारी गर्न पाउँदा डब्लुडब्लुएफ नेपाल गर्व गर्दछ,” उनले भने ।