उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम र एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङबिच छलफल
असार २७ गते । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम विहिबार दिउँसो एन्फा कम्प्लेक्स सातदोबाटो पुगे । जहाँ अखिल नेपाल फुटबल सँघ एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहितको नेतृत्वले मन्त्री हाङ्गामलाई स्वागत गरे । एन्फा उपाध्यक्ष दावा लामा,महासचिव किरण राई,कोषअध्यक्ष रविन्द्र जोशी र केन्द्रिय सदस्यहरु रमेश ब्यञ्जनकार र पुरुषोत्तम थापासहितको उपस्थिति थियो ।
मन्त्री हाङ्गाम राजनीतिज्ञ मात्र होइनन्, फुटबल खेलाडी पनि हुन् । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको उपाध्यक्ष भएर पनि काम गरेका व्यक्ति हुन् । जिल्ला लिग फुटबल च्याम्पियन हो, (ए डिभिजन), लिङ्तेपको प्रगतीशिल यूवा क्बल । उक्त क्बलले सुनसरीलाई समेत पराजित गरेको थियो । मन्त्री हाङ्गाम उक्त क्बलका समेत संस्थापक अध्यक्ष हुन् । तसर्थ फुटबल खेलाडी र क्लब नेतृत्व गरेको व्यक्ति भएकाले दुई पक्षबिचको भेटघाट नौलो होइन् । एन्फाले मन्त्री हाङगामलाई एन्फा परिवारको सदस्यको सूचीमा राखेको छ । त्यही भएर काठमाडौ पुगेका बेला एन्फाले मन्त्री हाङ्गामलाई सम्झने गरेको छ ।
उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामलाई स्वागतगर्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित पदाधिकारी
तर यसपटकको भेटघाटमा मन्त्री हाङगामले एन्फासँग दुई वटा विषयमा कुराकानी गरे । ताप्लेजुङ गोल्डकप (औपचारिक) र नेपाली राष्ट्रिय फुटबल टिमका कप्तानी विवाद (अनौपचारिक) । मन्त्री हाङगाम र एन्फा अध्यक्ष नेम्बाङबिचको छुट्टै छलफलमा जब ताप्लेजुङ गोल्डकपको विषयले प्रवेश पायो । तब मन्त्री हाङ्गामले विस्तृत विवरण सुनाए । तेश्रो संस्करणको ताप्लेजुङ गोल्डकपलाई भव्य रुपमा सम्पन्न गर्न एन्फाले सहयोग गर्नुपर्ने मन्त्री हाङ्गामको अनुरोध थियो । मन्त्री हाङ्गामले भने,‘ताप्लेजुङमा फुटबलको क्रेज अत्यधिक छ । उक्त क्रेज एन्फाको पनि सम्पत्ति हो । जोगाउन र टिकाउन सकेजति सहयोग दिए आभारी हुने थियौ ।’ जवाफमा एन्फा अध्यक्ष नेम्बाङले ताप्लेजुङ गोल्डकपले लिएको उचाईले फुटबलमा लागेकोको छाती चौडा भएको बताए । एन्फा अध्यक्ष नेम्बाङले भने,‘ताप्लेजुङ गोल्डकप नेतृत्वको टिमले गरेको काम साँच्चिकै गर्व गर्न लायक छ । आउँदो दिनमा अझ राम्रो गर्न सकोस् । शुभकामना !’ लाखेजात्रा संञ्चालन समिति अध्यक्ष सागर मादेन नेतृत्वको टोलीले साउन २४ गतेदेखि खेल सुरु गर्ने निर्णय गरेको छ । अध्यक्ष मादेन आर्थिक र भौतिक सहयोग जुटाउन काठमाडौमा छन् ।
भेटघाटपश्चात तस्बिर कैद गर्दै ।
यसैबिच उज्वेकिस्तानको तास्केन्दमा भर्खरै सम्पन्न एएफसी वुमेन्स एशियन कपमा नेपाली महिला टिमको कप्तानी विवादले चर्किएको छ । मन्त्री हाङ्गामले अध्यक्ष नेम्बाङलाई भने,‘विवाद होइन समाधान हेर्न चाहान्छौ । फुटबलप्रेमीको मन नदुखाउनुहोला ।’ प्रशिक्षक प्याट्रीक डे वाइल्डले कप्तान एन्जिला तुम्बापोको सट्टामा सावित्रा भण्डारीलाई कप्तान बनाएसँगै एन्फा र प्रशिक्षकबिच विवाद चर्किएको छ । टोलीमा गएकी हेड अफ डेलिगेट्स सरला श्रेष्ठले सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा भनिन्,‘मुख्य दोषी प्रशिक्षक हो । प्रशिक्षकै कारण भद्रगोल भयो ।’ तर प्रशिक्षक वाइल्ड चुपचाप बस्ने मनसायमा छैनन् । उनले भने,‘एन्फा नसुध्रिए म फर्किन्न ।’ यसैबिच मन्त्री हाङगामले दुर्गमका खेलाडी,क्लब र रेफ्रिलाई विशेष प्याकेज ल्याउन एन्फालाई आग्रह समेत गरेका छन् ।