मिङ्माडन्डु शेर्पा
फागुन ५ गते । जिल्लास्थित कार्यकर्ता र राजनीतिकर्मीसँग परिचित नाम हो,– मिङ्माडन्डु शेर्पा । नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्यको जिम्मेवारी थियो । फक्ताङलुङ गाउँपालिका कार्यपालिका सदस्य पनि हुन् । २०६२ सालदेखि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा आबद्ध थिए । पदीय हिसाबले वाइसियल जिल्ला,प्रदेश र केन्द्रिय कोषअध्यक्षको जिम्मेवारी सम्हाले । यसैगरि सचिव,अन्तराष्ट्रिय विभाग प्रमूख र उपाध्यक्षको पनि जिम्मेवारी प्राप्त गरे । २६ वर्षको अवधिमा टोलदेखि पेरिसडाँडासम्मका नेता कार्यकर्तासँग परिचित अनुहारको परिचय बनेको थियो । शेर्पाले सोमबार अपरान्ह आफ्नो फेसबुक पेजमा स्टाटससहित पार्टी परित्याग गरेको राजीनामा पत्र पोस्ट गरे । राजीनामा पत्रमा लेखिएको छ,–‘२६ वर्षको राजनीतिक यात्रा यहि टुङयाउने निर्णय गरेको छु । यतिका अवधिमा साथ र सहयोग गर्ने सबैलाई धन्यबाद !’
राजीनामा पत्र
आखिर किन छाडे नेकपा ? भन्ने जिज्ञासमा अधिकाँशको बुझाई फरक–फरक छ । सत्य स्यंम शेर्पालाई मात्र थाहा होला । यद्यपी शेर्पाका नजिकका साथीमध्ये एक हुन्,–राजन लिम्बु (मुक्ति) । लिम्बु फक्ताङलुङ गाउँपालिका अध्यक्ष हुन् । गाउँपालिकास्थित हरेक कार्यक्रममा प्रायः यी दुई जना छुट्दैनथे । अध्यक्ष लिम्बुले भने,‘साथीको निर्णयले दुःख लाग्यो । चुनावको संघारमा भएको निर्णयले मन अमिलो बन्यो ।’ शेर्पाले क्षणिक भावनाबाट प्रेरित नभई गहिरो आत्मामन्थनबाट निर्णय गरेको उल्लेख गरेका छन् । शेर्पाको स्टाटसमा मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले अबको राजनीतिका लागि शुभकामना र कतिपयले घोचपेचका शब्दले कमेन्ट गरेका छन् ।