setoveda logo
४ वैशाख २०८३, शुक्रवार

१ महिने गलैचा बुनाई तालिमका सहभागी भन्छन्ः उत्पादन गर्छौ, बजार व्यवस्थापनमा सहयोग पाउँ

असोज २९, २०८२, बुधवार
गलैचा बुनाई तालिम समापन

गलैचा बुनाई तालिम समापन

असोज २९ गते । फुङलिङ नगरपालिका–६ की दीपा गुरुङले एक महिना अवधिको गलैचा बुनाई तालिम समापनमा भनिन्,‘गलैचा उत्पादन गर्छौ । बजार व्यवस्थापनमा सहयोग पाउँ ।’ रेड पान्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजनामा बुधवार आयोजित तालिम समापनमा गुरुङले बजार व्यवस्थापन गरिदिन गरेको आग्रहमा सहभागी १० जनाले ताली पिटेर समर्थन जनाए । गुरुङले थपिन्,‘ तपाई भन्नुहन्छ तालिमको प्रमाणपत्र सिरानीमा नहोस् । तर हामी गलैचा उत्पादन गर्छौ । बजारको खाँचो नहोस् ।’

प्रमूख अतिथि फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनसहित अतिथि र सहभागीहरु ।

प्रमूख अतिथि फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनसहित अतिथि र सहभागीहरु ।

फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले हातमा सीप भएकाहरुलाई नगरपालिकाले सहयोग गर्ने वचन दिए । नगरप्रमूख मादेनले भने,‘नगरपालिका,घरेलु कार्यालय र वन कार्यालय पनि छ । सीप भएहरुले स्प्रष्ट कार्यक्रम बनाएर आउनुहोस् । सक्दो सहयोग गर्छौ ।’ तालिममा सहभागीहरुले उत्पादन गरेका एक थान चकटी कार्यक्रमका प्रमूख अतिथि मादेनलाई उपहार दिए । एक महिनासम्मको तालिममा आवश्यक सामाग्री हिमाली संरक्षण मंञ्चले उपलब्ध गराएको कार्यक्रम संयोजक रमेश राईले बताए । तान र बचत रहेको धागो समेत १० जना सहभागीलाई निशुल्क प्रदान गरिएको कार्यक्रम संयोजक राईले जानकारी दिए । राईले भने,‘तालिम दिएर त्यत्तिकै छाड्दैनौ । सहयोगका लागि समन्वय निरन्तर गर्छौ ।’

गलैचा तानमा तालिममा सहभागीहरु ।

गलैचा तानमा तालिममा सहभागीहरु ।

तालिममा सहभागीलाई खाजावाहेक दैनिक ५ सयका दरले जनही १५ हजार समेत प्रदान गरेको छ । हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि लिम्बुले सिकेको सीप व्यवहारमा लागू हुनेमा आफू र संस्था आशावादी रहेको बताए । तालिममा सहभागीलाई खाजा खर्च,भत्ता र सामाग्री खरिदका लागि ६ लाख ७८ हजार विनियोजन भएको संस्थाले जनाएको छ । कार्यक्रममा डिभिजन वन कार्यालय निमित्त प्रमूख चन्द्र गोइत,वन अधिकिृत प्रमेश्वर पासवान,घरेलु तथा साना उद्योग कार्यालय निमित्त प्रमुख नविन भटराई,नेपाल पत्रकार महासँघ अध्यक्ष सुवास आचार्य र तोक्मेडाँडा सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष प्रेम वहादुर पालुङवाको उपस्थिति थियो ।

तालिम समापनपश्चात आयोजक र अतिथिसँग तालिमका सहभागीहरु तस्बिर खिचाउँदै ।

तालिम समापनपश्चात आयोजक र अतिथिसँग तालिमका सहभागीहरु तस्बिर खिचाउँदै ।