setoveda logo
४ वैशाख २०८३, शुक्रवार

माछापोखरी हिटी गोल्डकपः फागुन २५–२९ गतेसम्म,प्रथम पुरस्कार तीन लाख रुपैयाँ

फागुन २१, २०८१, बुधवार

फागुन २१ गते । माछापोखरी हिटी गोल्डकप २०८१ (दोश्रो संस्करण) फागुन २५ गतेदेखि २९ गतेसम्म चाँगेमा हुने भएको छ । आयोजक माछापोखरी हिटी क्लब चाँगेद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा ५ दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा ८ टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ । ७ खेलमध्ये फागुन २५ गते, २६ गते र २९ गते दैनिक एक खेल हुनेछ । फागुन २७ र २८ गते दुई–दुई वटा खेल हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमार्फत खेल तालिका समेत सार्वजनिक गरेको छ । फागुन २५ गते माछापोखरी हिटी क्लब र मरिक फुटबल क्लब धरानबिच प्रतिस्पर्धा हुनेछ । फागुन २६ गते लालीमा क्बल ताप्लेजुङ र संखुवासभा जिल्ला फुटबल सँघबिच खेल हुने भएको छ । यसैगरि सम्दु एफ सी तेह्रथुम र वाईवाई पाँचथरबिचको खेल फागुन २७ गते हुनेछ । सोही दिन डाँडा बजार फुटबल क्बल धनकुटा र न्यू स्टार क्लब झापाबिच खेल हुने भएको छ । फाइनल खेल फागुन २९ गते हुने भएको छ । खेल दिउँसो २ बजे आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेमा हुने समितिका अध्यक्ष दिल कुमार लिम्बुले (दिलिप) बताए ।

विजेताले ३ लाख र उपविजेताले १ लाख ६० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विद्यागत पुरस्कार जनही ३ हजार राखिएको छ । प्रतियोगीता सञ्चालन गर्न २२ लाख रुपैयाँ खर्च हुने अनुमान छ । फागुन २९ गते फाइनल खेल पश्चात सांस्कृतिक कार्यक्रम आयोजना गरिएको अध्यक्ष लिम्बुले जानकारी दिए । मेचु धिमाल,नोगेन लिम्बु र विकास तुम्बापो लिम्बुसहित स्थानिय कलाकारको प्रस्तुती हुने सचिव घननाथ गौतमले बताए ।

आठराई त्रिवेणी गाउँपालिका मुख्य प्रायोजक रहेको छ । आठराई त्रिवेणी गाउँपालिका–५ नं. वडा कार्यालय चाँगे,मैवाखोला गाउँपालिका,मिक्वाखोला गाउँपालिका,फक्ताङलुङ गाउँपालिका र मेरिङदेन गाउँपालिका प्रायोजक रहेका छन् । पाथीभरा क्षेत्र विकास समिति र चाँगे समाज हङकङ समेत प्रायोजक रहेको छ । खेलकुद र सांस्कृतिक कार्यक्रमार्फत गाउँपालिकाको पर्यटकीयस्थल प्रचार प्रसार तथा एक आपसमा सहकार्य र सद्भाव प्रगाढ बनाउन प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ । खेलाडी उत्पादन र प्रोत्साहनका लागि प्रतियोगीता उपलब्धिमुलक हुने एन्फा रेफ्री दिपेश आङवुहाङले बताए ।