चैत २८ गते । बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बुधवार बोरुसिया डर्टमन्डलाई ४-० ले हराएको छ। राफिन्हाले च्याम्पियन्स लिगको एउटै सिजनमा गोलमा संलग्नतामा लियोनेल मेस्सीको क्लब कीर्तिमानसँग बराबरी गरे।
ब्राजिलियन फरवार्ड राफिन्हाले १ गोल र २ एसिस्ट गरेपछि यो सिजन प्रतियोगितामा १९ गोलमा उनको संलग्नता रहेको छ । मेस्सी २०११-१२ सिजनमा पुगेका १९ गोलमा भूमिका निर्वाह गरेका थिए। युरोपियन प्रतियोगितामा यो सिजन राफिन्हाको १२औं गोल गरेपछि बार्सिलोना २५ औं मिनेटमाअग्रता बनायो। त्यसपछि रोबर्ट लेवान्डोव्स्कीले दोस्रो हाफमा दुई गोल थपे र लामिन यामालले चौथो गोल गर्दै स्पेनिस टोलीलाई सेमिफाइनलको दिशातिर डोर्याए।
घरेलु टोलीले खेलको सुरुआतमा आक्रामक प्रदर्शन गर्यो । पहिलो सात मिनेटमै तीन पटक गोल गर्ने अवसर बनायो । जसमा यामाल र लेवान्डोव्स्कीको प्रहारलाई डर्टमन्डका गोलकिपर ग्रेगोर कोबेलले उत्कृष्ट बचाउ गरे। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै लेवान्डोव्स्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। यामालको क्रसमा राफिन्हाले हेडमार्फत गोलपोस्ट अगाडि पास गरे । त्यसमा लेवान्डोव्स्कीले नजिकबाट सजिलै पूरा गरे।
लेवान्डोव्स्कीले ६६ औं मिनेटमा अर्को गोल गरे। क्लबका लागि आफ्नो त्यो ९९औं गोल हो । काउन्टर-अट्याकको क्रममा पहिलो टचमै गोल गरे। ७७औं मिनेटमा अर्को काउन्टरमा राफिन्हाले यामाललाई पास दिँदै मेस्सीको रेकर्ड बराबरी गरे। यामालले सजिलै गोल पूरा गरे। अर्को खेलमा पेरिस सेन्ट जर्मनने एस्टन भिल्ला विरुद्ध ३-१ को जित निकाल्यो ।