setoveda logo
४ वैशाख २०८३, शुक्रवार

लुङगेलीको गोलमा झापाको जित,सहारा क्लब पोखरा पराजित

साउन २५, २०८२, आइतवार
जोया रेड स्टार क्लब झापा

जोया रेड स्टार क्लब झापा

साउन २५ गते । सविन कुमार लुङ्गेलीको गोलको मदतमा जोया रेडस्टार क्लब झापा तेश्रो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । लुङ्गेलीको गोलसँगै झापा सेमिफाइनल प्रवेश गर्दा सहारा क्लब पोखरा घर फर्किएको छ । लुङ्गेलीले खेलको ७६औं मिनेटमा गोल गरे । विवेक राईको ठाउँमा मैदान प्रवेश गरेका रोशन ठकुरीले निकालिदिएको पासलाई उनले सुन्दर गोल गरे । ठकुरी ७४औं मिनेटमा मैदान प्रवेश गरेका हुन् । ९२औं मिनेटमा लुङगेलीलाई पोखराका डिफेन्सले फउल गरे । मुख्य रेफ्रि श्याम दनुवारले पेनाल्टी दिए । उक्त पेनाल्टी प्रहार पनि लुङ्गेलीले नै गरे । उनले प्रहार गरेको वलले दाहिने साइटहुँदै जाली चुम्यो । गोलकिपर आयुष्मान गुरुङले अनुमान गरेको देब्रे साइट सहि हुन सकेन् । म्यान अफ दि म्याच बनेका लुङगेलीले जितको श्रेय टिमलाई दिए । उनलाई नगद ७ हजारसहित मेडल र ट्रफी जिल्ला समन्वय समिति उपप्रमूख कृष्ण लिङ्खिमले प्रदान गर ।

म्यान अफ दि म्याच पुरस्कार प्रदानमा सहभागी अतिथिहरु ।

म्यान अफ दि म्याच पुरस्कार प्रदानमा सहभागी अतिथिहरु ।

म्यान अफ दि म्याच घोषित सविन कुमार लुङगेली

म्यान अफ दि म्याच घोषित सविन कुमार लुङगेली

पोखराका सविन नेपाली र भरत शाहले निकै मेहनत गरे । तर झापाका डिफेन्स लाइन बलियो रह्यो । झापाका डिफेन्स विश्वास श्रेष्ठले विश्वासिलो प्रदर्शन गरे । राष्ट्रिय टोलीमा परिसकेका अनुभवी गोलकिपरको पनि झापाले साथ पाएको थियो । दीप कार्कीले गोलपोस्ट सम्हालेकाले झापाली खेलाडी ढुक्कले खेल्न सके । प्रशिक्षक विजेन पुडासेनीले मैदानभित्र खेलाडीलाई बेला बेला मात्र सचेत गराए । तर पोखराका प्रशिक्षक सुनिल राना मगर निकै व्यस्त बने । प्रशिक्षकले पटक–पटक आफ्नो बक्स क्रस गर्दा रेफ्रिले सचेत गराए । प्रशिक्षक रानामगरले खेलाएका खेलाडीले अनुशासित फुटबल खेले । अघिल्लो दिनको तुलनामा रेफ्रिले कमै पहेलो कार्ड प्रयोग गरे । दोश्रो दिनको अध्यक्षता उपाध्यक्ष अशोक थेबेले गरे ।

सहारा क्लब पोखराका प्रशिक्षक सुनिल रानामगरलाई मायाको चिनो प्रदान गर्दै लाखेजात्रा सञ्चालन समिति उपाध्यक्ष अशोक थेबे ।

सहारा क्लब पोखराका प्रशिक्षक सुनिल रानामगरलाई मायाको चिनो प्रदान गर्दै लाखेजात्रा सञ्चालन समिति उपाध्यक्ष अशोक थेबे ।

सोमबार तेश्रो क्वाटरफाइनल खेल हुँदैछ । लिजेण्ड फुटबल एकेडेमी सिलिगुढी भारत र चर्च व्वाईज क्लब ललितपुरबिच हुनेछ । खेल दिउँसो ३ बजे हुने कोषअध्यक्ष दावा शेर्पाले बताए । पहिलो दिन ३ः५५ बजे र दोश्रो दिन ३ः३४ बजेदेखि खेल सुरु भएको थियो ।