फागुन १९ गते । ओलाङचुङगोला हुँदै चीनको तिब्बत जोड्ने तमोर करिडोर सडकमा पर्ने सुकेपानीस्थित तमोर नदीमाथि बेलिव्रिज निर्माणको काम सुरु भएको छ । चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय सडक सञ्जालका रूपमा रहेको तमोर करिडोरमा रहेको तमोर नदीमाथि बेलिब्रिज निर्माणको काम शनिबारदेखि सुरु गरिएको तमोर करिडोर ९सुभाङखोला–दोभान–ओलाङचुङगोला० कार्यालयले जनाएको छ। सो ब्रिजको निर्माणको जिम्मा शक्तिकुण्ड सुष्मा जेभीले पाएको छ।
सडक कार्यालयका प्रमुख सिंहबहादुर बिष्टले तमोर करिडोर सडकको इलाडाँडा–सुकेपानी खण्डअन्तर्गत तमोर नदीमा बेलिब्रिज निर्माण गर्न लागिएको र ओलाङचुङगोलासम्म यातायात सञ्चालन गर्न सहज हुने गरी पुल निर्माण गर्न थालिएको जानकारी दिए। उनले भने, ‘आउँदो असार मसान्तभित्र बेलिब्रिज निर्माण सम्पन्न गर्ने गरी सडक योजना र निर्माण कम्पनीबिच सम्झौता भएको हो।’
निर्माण कम्पनीसँग कुल एक करोड ७१ लाख रुपैयाँ बजेटमा निर्माण गर्ने गरी सम्झौता गरिएको हो। सडक योजनाका सूचना अधिकारी एवं इन्जिनियर वसन्त गाइँका अनुसार सुकेपानीमा बन्ने बेलिब्रिजको लम्बाइ ५० मिटरको हुनेछ। निर्माण कम्पनीले काम सुरु गरेसँगै समयभित्र बेलिब्रिज निर्माण सम्पन्न गर्नका लागि सडक योजनाले नियमित निगरानी गर्ने योजना बनाएको पनि इन्जिनियर गाइँले जानकारी दिए।
निर्माण कम्पनी शक्तिकुण्ड सुष्मा जेभीका प्रतिनिधि ध्रुव कार्कीले पुल निर्माणका लागि पुलको जिपलगायतका संरचना निर्माणको काम सुरु गरिएको बताए। मंगलबारदेखि बुधबारसम्ममा तारजाली, रडलगायतका निर्माण सामग्री निर्माणस्थलमा पुग्ने र त्यसपछि कामलाई तीव्रता दिइने कम्पनीले जनाएको छ। ताप्लेजुङ–पाँचथर जिल्ला जोड्ने मेची राजमार्गमा पर्ने काबेली खोलामा रहेको पुरानो बेलिब्रिज झिकेर तमोर कोरिडोरको सुकेपानीमा जडान गर्न लागेको सडक योजना प्रमुख बिष्टले जानकारी दिए। २०५३ सालतिर निर्माण भएको बेलिब्रिज प्रयोग गर्ने अवधि सिद्धिएकाले काबेली खोलाबाट झिक्न लागिएको बिष्टको भनाइ छ।
काबेली खोलामा बेलिब्रिज रहेको ठाउँमा भने मेची राजमार्ग जोड्ने गरी पक्की मोटरेबल पुल निर्माण भइसकेको छ। तमोर करिडोर सडकले नेपाल–भारतको सिमाना जोगबनी–विराटनगर–रानी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिप्ताला नाकामा जोड्नेछ। ओलाङचुङगोला र टिप्तला भन्ज्याङ क्षेत्र पर्यटकीय क्षेत्र पनि हो । करिब चार सय वर्ष पुरानो दीकी छ्योखोर्लिङ बौद्ध गुम्बा गोलामै पर्छ । सिङ्जेमा ताल र स्याम्दु पोखरी समेत गोलामै पर्छ । सडक र पुल बनेसँगै घुमफिर गर्न आउने पर्यटकको संख्या वृद्धि हुने फक्ताङलुङ गाउँपालिका ७ वडाअध्यक्ष क्षेतेन शेर्पा लामाले बताए ।