चैत्र १९ गते । फ्रान्सको एक अदालतले चरम दक्षिणपन्थी दल नेशनल र्याली (आरएन) की नेतृ मरिन ले पेनलाई आर्थिक हिनामिनाको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षका लागि सार्वजनिक पदमा प्रतिबन्ध लगाएको छ । उनले सन् २०२७ मा हुने राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भएकी छन् । अदालतको निर्णयसँगै फ्रान्सको राष्ट्रपति बन्ने उनको चौथो प्रयास पनि असफल हुने निश्चित भएको छ । यसअघि उनले सन् २०१२, २०१७ र २०२२ मा फ्रान्सको राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गरेकी थिइन् ।
पेनलाई उनको दल आरएनलाई आर्थिक सहयोग गर्न युरोपेली कोष हिनामिना गरेको आरोपमा दोषी ठहर गरिएको हो । अदालतका अध्यक्ष बेनेडिक्टे डे पर्थुइसले ले पेनका कार्यहरू ‘युरोपमा विशेषगरी फ्रान्समा लोकतान्त्रिक जीवनका नियमहरूमाथि गम्भीर र स्थायी आक्रमण’ भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार सुनुवाईका क्रममा अदालतमा उपस्थित ले पेन भने प्रतिबन्धको अवधि थाहा पाउनु अघि नै अदालतबाट बाहिरिएकी थिइन् । अभियोजकहरूले ले पेनलाई २०२७ को राष्ट्रपतीय चुनावमा उम्मेदवार हुनबाट रोक्न कम्तीमा ५ वर्षका लागि सार्वजनिक पदमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए । एजेन्सी