setoveda logo
४ वैशाख २०८३, शुक्रवार

खगेन्द्र फेम्बो,श्री प्रसाद लिम्बुसहित पाँच जना अदालतमा उपस्थित,पुर्पक्षका लागि धरौटी तारिखमा छुटे

चैत १५, २०८१, शुक्रवार

चैत १५ गते । जिल्ला अदालत ताप्लेजुङको फरार प्रतिवादी सूचीमा रहेका नो केबलकार समूहका ५ जना शुक्रबार अदालतमा उपस्थित भएका छन् । उनीहरुले अदालतमा निवेदनसहित उपस्थित भएर बयान दिएका छन् । खगेन्द्र फेम्बो,पुर्ण वहादुर पालुङवा,रोशन कङ्लिवा (सरोज),मुक्साम लिम्बु र श्री प्रसाद लिङखिम लिम्बुले अदालतमा उपस्थित भएर बयान दिएका हुन् । बयानपश्चात जनही २० हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार नै पुर्पक्षका लागि धरौटी तारेखमा छुटेका छन् । बयानसकिएलगत्तै प्रक्रिया पुर्याएर रकम बुझाएपछि छुटेको अदालतका स्रेस्तेदार मनोज बरालले जानकारी दिए । उनीहरु विरुद्ध आपराधिक उपद्र तथा हुलदुङ्गा शिर्षकको अभियोगमा अदालतमा मुद्धा दर्ता भएको थियो । उनीहरुले काफ्लेपाटीस्थित केबलकार वट स्टेशन र विरेन्द्रचोकमा भएको घटनामा नेतृत्व गरेको यसअघि पक्राउ परेका १८ जनाले अधिकारप्राप्त अधिकारीसमक्ष बयान दिएपछि पक्राउ पुर्जी जारी भएको हो। चार जना अझै अदालतको फरार प्रतिवादीको सूचीमा छन् । यसअघि धरौटी तारिखमा छुटेका १८ जनासहित शुक्रबार छुटेका ५ जनालाई चैत २१ गते अदालतमा उपस्थित हुन तारिख दिएको छ । स्रेस्तेदार मनोज बरालका अनुसार मुद्धा शिर्षक एउटै भएपनि भुमिकाका आधारमा धरौटी र सजाय निर्धारण फरक हुन सक्छ । अदालतबाट मुद्धाको अन्तिम फैसला हुन बाँकी छ । गत फागुन ८ गते काफ्लेपाटी नजिक केबलकार बट स्टेशनमा दोहोरो झडप भएको थियो । लगत्तै फागुन १० गते बेलुकी विरेन्द्रचोकमा राँके जुलुस निकालेको थियो । उक्त राँके जुलसका क्रममा सुरक्षाकर्मी र नो केवलकार पक्षबिच झडप भएको थियो । सुरक्षाकर्मी र नो केवलकार पक्षका घाइते भएका थिए । सोही घटनामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरि सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्धा चलाएको हो ।