setoveda logo
४ वैशाख २०८३, शुक्रवार

खो–खो विश्वकप उपविजेता टोली १४ करोड पुरस्कारको हकदार

माघ ८, २०८१, मङ्गलवार

माघ ८ गते । प्रथम खो–खो विश्वकपमा उपविजेता बनेको दुवै नेपाली महिला र पुरुष सोमबार स्वदेश फर्किएको छ । ऐतिहासिक उपलब्धि हासिल गरेको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्ले स्वागत गरेको थियो ।

राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्सालसहित राखेप बोर्ड सदस्यहरू, नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जन, काठमाडौं महानगरपालिका प्रतिनिधिलगायतले भव्य स्वागत गरेका थिए ।

आइतबार भारतको नयाँ दिल्लीमा सम्पन्न विश्वकपमा नेपालको पुरुषरमहिला दुवै टोली उपविजेता बनेको थियो । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा नेपालको दुवै टोली आयोजक भारतसँग पराजित भएको हो । पुरुषमा २० र महिलामा १९ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

सदस्य–सचिव घिसिङले पूरा टिमको मिहिनेतले विश्वकपमा ऐतिहासिक सफलता सम्भव भएको बताए । उनले उमेर समूहका खेलाडीलाई मध्यनजर गर्दै राखेपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रममा खो–खो समावेश गरिएको जानकारी गराए ।

पुरुष कप्तान हेमराज पनेरु र महिला कप्तान सरस्वती कडायतले पदक जित्ने लक्ष्यसाथ विश्वकपमा सहभागी भएको स्मरण गराउँदै हाम्रो सफलता देशका लागि ऐतिहासिक उपलब्धि बनेकोमा गौरव महसुस भएको बताए ।

सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा व्यवस्था भएबमोजिम नै खेलाडीलाई पुरस्कृत गरिने बताए । त्यसका लागि १५ दिनभित्र आवश्यक कागजात पेस गर्न खो–खो संघलाई निर्देशन दिएका छन् ।

ई कान्तिपुर