setoveda logo
४ वैशाख २०८३, शुक्रवार

केवलकार विवादः शनिबारको झडपमा १५ जना पक्राउ

फागुन ११, २०८१, आइतवार

फागुन ११ गते । पाथीभरामा केवलकारको विरोधमा शनिबार बेलुकी आयोजित राकेँ जुलुसमा सहभागीमध्ये १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ११ जना पुरुष र ४ जना महिला रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । ताप्लेजुङका नविन पोमू,पाँचथरका मित्र लिङदेन,सुनिता केरुङ र यमन राई रहेको प्रहरीले जनायो । प्रहरी नायब उपरिक्षक रवि रावलका अनुसार ताप्लेजुङका एक जना बाहेक बाँकी १४ जना जिल्ला वाहिरका हुन् । पाँचथर,इलाम,झापा,मोरङ र सुनसरीका छन् । प्रहरी नायव उपरिक्षक रावलले भने,‘पक्राउ परेकाको परिचय संकलनमा छौ । सम्भवत आइतबार बेलुकीसम्म सबै विवरण संकलन हुन्छ ।’ राकेँ जुलुसमा सहभागी भएर फुङलिङ नगरपालिका–५ विरेन्द्रचोकस्थित घरमा आगो फ्याँकेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यद्यपी आन्दोलनरत पक्षले बजारस्थित कसैको घरको छतबाट ढुङ्गा हानेको दावी गरेको छ । सदरमुकामस्थित विभिन्न क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । आन्दोलनरत पक्षका अगुवा कृतीमान मादेनका अनुसार प्रहरीले आन्दोलनरत पक्षकालाई अमानवीय व्यवहार गरेको गुनासो गरेको छ । प्रहरीले चन्द्र मादेन र प्रदीप मादेनको घरबाट (पूर्व मन्त्री स्व. विष्णु मादेनका छोरा ) विना कारण कुटपिट गरि पक्राउ गरेको हो । विरेन्द्रचोकमा केहीवेरको झडपपश्चात घरमा बसेर खाना खाने तयारीमा रहेका बेला एक्कासी कुटपिट गरि पक्राउ गरेको आरोप लगाएको छ । प्रमूख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आरोप अनुमानमा आधारित रहेको बताए । झडप सकिसकेपछि घरमा खाना लागेकोलाई किन कुटपिट र पक्राउ गरेको ? भन्ने प्रश्नमा प्रजिअ शर्माले भने,‘उनीहरुले लगाएका आरोप गलत हुन् । घरमा नारावाजी गरेर पुनः आन्दोलनमा फर्कने रणनीति विफल बनाउन पक्राउ गर्दा सामान्य बल प्रयोग भएको साँचो हो ।’ विरेन्द्रचोकमा व्यक्तिको घरमा आगो फालेर आन्दोलन होइन अपराध गरेको प्रशासनको दावी छ ।