जेठ २३ गते । । संकटापन्न सूचीमा रहेको डल्फिनको संख्या कोशीटप्पुमा बढेर २२ पुगेको छ । यसै साता गरिएको गणनाको कोशी नदी तथा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रले बिहीबार नतिजा सार्वजनिक गरेको हो । १५ देखि १८ जेठसम्म भएको गणनामा १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन रेकर्ड गरिएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादव बताउँछन् ।
कोशीटप्पु
गत वर्ष १९ वटा मात्र डल्फिन रेकर्ड भएको थियो । पानीमा बस्ने डल्फिन अन्डा नभई बच्चा नै जन्माउने जीव हो । आकारमा माछाभन्दा ठूलो भए पनि डल्फिनले मान्छेलाई कुनै हानि गर्दैन । ‘यो मानवसँग निकै निकट र रमाउने जीव भएको हो,’ संरक्षणविद् यादव भन्छन् । भारतको गंगासागर हुँदै कोशी नदीसम्म जलचरन गर्ने यी डल्फिन सफा र गहिरो पानीमा विचरण गर्न मन पराउँछन् । पछिल्लो समय नदीमा प्लास्टिकजन्य फोहोर बढेकाले डल्फिनको संख्यामा उल्लेख्य वृद्धि हुन नसकेको वरिष्ठ संरक्षण अधिकृत यादवको भनाइ छ । ‘नदीमा प्लास्टिक, बोतललगायत फोहोर थुप्रिने गरेका छन्, त्यसले डल्फिनको आहारा र संरक्षणमा चुनौती थपिएको छ,’ उनी भन्छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार नेपालको सप्तकोशी र कर्णाली नदीमा डल्फिन पाइने गरेको छ । नेपालमा डल्फिन सयभन्दा कम संख्यामा भएको आरक्षले जनाएको छ । आरक्षले सन् २०२२ देखि प्रत्येक वर्ष डल्फिन गणना गर्दै आएको छ । आरक्षको तथ्यांकअनुसार २०२२ मा यहाँ १७ वटा डल्फिन थिए । २०२३ र २०२४ मा १९ डल्फिन गणना भएका थिए । E-kantipur