setoveda logo
४ वैशाख २०८३, शुक्रवार

कोशी प्रदेश सरकारको आव्हानमा पर्यटन वर्ष २०८२ को टिएमजेमा उद्घाटन

चैत २७, २०८१, बुधवार

चैत २७ गते । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को उद्घाटन गरेको छ। गुराँसको राजधानी तेह्रथुमको तीनजुरे मिल्केमा पर्यटन वर्षको उद्घाटन गरिएको हो। कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न यो पर्यटन वर्ष घोषणा गरिएको बताए। कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुजी निर्माण गरिने दावी गरे । स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै यो प्रदेश नमुना प्रदेशको रुपमा लैजाने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे। सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेरअघि बढ्दै पर्यटनलाई प्रवर्धन गर्ने चाहना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै जातजाति ,धर्म संस्कृतिको जगर्ना र त्यसको संरक्षणमा अघि बढ्ने स्पष्ट पारेका छन्। पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापारघाटा काम गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ऊर्जा, जलविद्युत पर्यटन, जडीवुटीका क्षेत्रमा काम गर्ने बताए ।

कोशी प्रदेशलाई बन्द हडतालबाट मुक्त गर्दै यहाँ भएको समस्या वार्ताको माध्यमबाट समाधान गर्न पनि मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो। यी समस्याहरु समाधान गरेमा पर्यटन प्रवर्धन हुनुका साथै विकास र समृद्धिमा नयाँ मोडमा जान सक्ने उनले स्प्रष्ट पारेका हुन्। प्रदेशमा माङसेबुङ जस्तो पवित्र स्थल रहेको साथै साहसिक पर्यटकको पनि सम्भावना रहेको चर्चा गर्दै उहाँले यी सबैलाई ध्यान दिएर अघि बढ्नुपर्ने बताएका छन् । सरकारले ल्याएको अध्यादेशबाट निजी क्षेत्र उत्साहित भएको र अझै कानुन सुधार गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले संघीय सरकारले केही कानुनमा अझै सच्याउनुपर्ने र सुधार गरेर जानुपर्ने अवस्था रहेको बताए। नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि भारत र चीनबाट पर्यटन भित्र्याउन सक्नुपर्ने बताउँदै यसका लागि संघीय सरकारले काम गर्नुपर्ने बताए । कोशी प्रदेशमा बाराह क्षेत्र, हलेसी र माङ्सेबुङ जस्तो विशिष्टकृत धार्मिक क्षेत्र रहेको जानकारी दिँदै उहाँले धार्मिक पर्यटनबाट ठूलो लाभ लिन सकिने बताए । पर्यटनको पूर्वाधार र नीति नियममा पनि सबैको चासो र सरोकार रहनुपर्ने उल्लेख गर्दै यसमा सबै राजनीतिक दलको सहयोगको अपेक्षा गरेका छन् ।