setoveda logo
४ वैशाख २०८३, शुक्रवार

२५ करोड लुकाउने ‘फल्स बटम’ बनाउन तीन साता ग्यारेजमा राखिएको थियो ट्रक

चैत ६, २०८१, बुधवार

चैत ६ गते । कपडा किन्न भन्दै चीन हिँडेको ट्रकबाट २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा ९अमेरिकी डलर र युरो० बरामद भएको छ । उक्त विदेशी मुद्रासहित गाडीधनीसमेत रहेका चालक ‘फुच्चे’ भनिने कुसाङ लामा पक्राउ परेका छन् । उक्त रकमबारे विस्तृत खुलासा नभए पनि सुन ल्याउन चिनियाँ नाकातर्फ पैसा लगिँदै गरेको विश्लेषण प्रहरीको छ ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ निवासी कुसाङ परिवारसहित काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा डेरा बस्दै आएका छन् । उनले चलाएको ना ७ ख १६५२ नम्बरको ट्रकलाई सोमबार राति ११ बजे टोखा नगरपालिका–२ झोरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै चीन लगिँदै छ भन्ने सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

‘सूचनाका आधारमा ट्रकलाई कार्यालयमा ल्याएर खानतलासी गर्‍यौं,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेत भन्छन्, ‘चालक बस्ने क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई भित्रपट्टि लुकाएर राखिएको अवस्थामा अमेरिकी र युरो मुद्रा बरामद गरेका हौं ।’ पक्राउ गरेर सोधपुछ गर्दा लामा आफैंले पैसा लुकाएको ठाउँ देखाएको बस्नेतले बताए ।

ट्रक झन्डै तीन साता ग्यारेजमा राखेर निकालिएको दिनमै प्रहरीले पक्राउ गरेको थियो । आचार्यका अनुसार रसुवा जाने गाडी प्रायः साताको दुई पटक ओहोरदोहोर गर्छन् । ‘लामाले चलाएको गाडी भने योजना नै बनाएर ग्यारेजमा राखेको र पैसा लुकाउने ठाउँ बनाइएको हुन सक्छ,’ आचार्यको भनाइ छ । प्रहरीले एकै पटक भेटेको यो अहिलेसम्मकै धेरै रकम भएको समेत दाबी गरेको छ ।

प्रहरीका अनुसार ‘सोनी ट्रान्सपोर्ट’ लेखिएको खाली ट्रक लामाले रसुवागढीसम्म चलाउने र त्यसपछि अर्का चालकले सीमापार गराउने चाँजोपाँजो मिलाइएको थियो ।

प्रहरीसँग लामाले आफू फेन्सी कपडा खरिद गर्न जान लागेको बताएका छन् । ‘तर कपडा लिन नभई सीमापार गरेर अवैध रकम चीन पुर्‍याई उताबाट सुन खरिद गरेर ल्याउन खोजिएको देखिन्छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी उपरीक्षक काजीकुमार आचार्य भन्छन् ।

पक्राउ परेका ४३ वर्षीय लामा यसअघि पनि राजस्व छली र सुन तस्करीमा ५ वर्ष जेल परेका व्यक्ति हुन् । उनी ७ केजी सुन तस्करीमा २०७३ पुस १३ मा गाडीसहित काठमाडौं आउँदै गर्दा गल्छीमा समातिएका

थिए । त्यतिबेला उनी भरियाका रूपमा काम गरेको अभियोग लागे पनि सुन तस्करीका मुख्य मान्छेसम्म प्रहरी पुग्न सकेको थिएन । जेलबाट छुटेपछि लामा निरन्तर सुन तस्करीमा भरिया र चालकका रूपमा काम गरिरहेको अनुमान प्रहरीको छ । प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

‘नेपालमा पनि विदेशी पैसाको कारोबार हुन्छ, मनी एक्स्चेन्ज छन्, यो पैसा नेपालबाटै संकलन गरेर लगेको हुन सक्छ,’ उनी भन्छन् । प्रहरीले लामाका साथबाट दुई थान मोबाइल पनि बरामद गरेको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे ठूलो परिमाणमा पैठारी र चोरी हुने गरेको तथ्यलाई यो घटनाले इंगित गरेको बताउँछन् । ई कान्तिपुर