राते खोलामाथि पुल बनाउन काधुरीको टोली तापेथोक प्रस्थान गर्नुपूर्व ट्याक्टरमा सामान लोड गर्दै ।
कार्तिक १७ गते । कंञ्चनजंघा हिमाल प्रस्थान गर्ने तापेथोकस्थित राते खोलामा पुल बनाउन काधुरीको टोली सोमबार तापेथोक प्रस्थान गरेको छ । तापेथोक राते खोला तरेर आम्जील्हासा फले घुन्सा हुँदै कंञ्चनजंघा बेसक्याम्प जाने भएकाले राते खोलामा पुल बनाउन काधुरीटोली प्रस्थान गरेको हो । ५५मिटर लम्बाईको झोलुङगे पुल बनाउन काधुरीका सुपरभाइजर हरेन्द्र बुढामगरसहित ५ जना मिस्त्रीको टोली प्रस्थान गरेका छन् । सदरमुकामबाट आवश्यक सामाग्री दाल चामल र टेन्ट ट्याक्टरमा लिएर गएका छन् । पुल ३ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने काधुरीको तयारी छ । काधुरीकै दक्ष मिस्त्री र स्थानिय कामदारमार्फत पुल बनाउने भएको छ ।
काधुरी टिमले आवश्यक नुन तेल चामल र टेन्ट आफै व्यवस्थापन गर्दै ।
फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित राते खोलामाथिको पुल २०८१ को वर्खायामको बाढीले बगाएको थियो । बाढीले पुल बगाएपछि स्थानियबासी र पर्यटकलाई आवतजावतमा समस्या भएको थियो । गत वर्षको कार्तिकमा काधुरीका डाइरेक्टर नारायण गुरुङ आएको बेला पुल निर्माणका लागि वडाअध्यक्ष पेम्बाटासी शेर्पाले अनुरोध गरेका थिए । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका वडाअध्यक्ष शेर्पाले पुल तापेथोकमा बनाउनुपर्ने भएपनि आफ्नो वडाको वडाबासीले बढि प्रयोग गर्ने भएकाले माग गरेका हुन् । काधुरीले नै बनाएको पुल बाढि पहिरोले बगाएमा वा क्षति भएमा प्रायः काधुरीले नै बनाउने गरेको छ । तर राते खोलामाथिको पुल पहिलो पटक एसएनभी र हेल्भिटास नेपाल र दोश्रो पटक कंञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले विभिन्न संस्थासँग समन्वय गरेर बनाएको थियो । पहिलो पटक २८ मिटर र दोश्रो पटक ३२ मिटरको पुल बनेको थियो । तर बाढिपहिरोले पुल बगाएको थियो । वडाअध्यक्ष शेर्पाले भने,‘वर्खामा खोला बढ्दा यात्रा गर्न कठिन हुन्छ । त्यही भएर बनाउन जरुरी थियो ।’ जिल्लाका थुप्रै स्थानमा काधुरीले बनाएका दर्जनौ पुलले स्थानियबासीको जनजीवन सहज बनाउन मदत पुगेको छ ।