setoveda logo
४ वैशाख २०८३, शुक्रवार

‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ मा महेश बस्नेत आउँदा होन्डाको लोगो गायब, किन ?

फागुन १४, २०८२, बिहिवार
एमाले सचिव महेश बस्नेत

एमाले सचिव महेश बस्नेत

फागुन १४ गते । पछिल्लो समय दर्शकमाझ अत्यधिक लोकप्रिय बनिरहेको टेलिभिजन शो हो, ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’। हिमालयन टेलिभिजनमा प्रशारण हुँदै आएको यो कार्यक्रमले हरेक हप्ता दर्शकलाई राम्रै मनोरञ्जन दिइरहेको छ । विभिन्न क्षेत्रका अतिथिहरु बोलाउने र उनीहरुलाई नै ब्यापक रुपमा ‘रोस्ट’ गर्ने यो कार्यक्रमको प्रमुख विशेषता हो । यद्यपि, मनोरञ्जनका खुराकहरु अरु थुप्रै हुन्छन् । सुरु–सुरुमा सेलिब्रिटीहरुलाई मात्रै बोलाउने गरिए तापनि पछिल्लो समय राजनीतिकर्मीहरुको पनि यसमा बाक्लै चहलपहल हुन थालेको छ । अझ चुनाव लागेदेखि ‘ब्याक टु ब्याक’ विभिन्न पार्टीका नेताहरु गेस्ट बनेर आइरहेका छन् ।

अब कुरा गरौं पछिल्लो एपिसोडको, जुन अहिले चर्चामा छ । हिजो प्रशारित यो एपिसोडमा अतिथि छन् एमाले सचिव महेश बस्नेत । यो एपिसोडको तीन दिनअघि ट्रेलर सार्वजनिक भएपछि नै बजार गर्माएको थियो । युट्यूव र अन्य सामाजिक सञ्जालमा ‘विवादित नेता’ लाई निम्त्याइएको भन्दै अत्यधिक नकारात्मक कमेन्टको सामना गर्नुपर्यो । कार्यक्रम निर्देशक विशाल भण्डारीले नेपाली समाज अत्यधिक निषेधात्मक बन्दै गइरहेको भन्दै चित्त दुखाए । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसअघि रास्वपाका नेताहरुलाई पटक–पटक बोलाएको स्मरण गराए र सन्तुलन मिलाउन एमाले नेतालाई बोलाइएको प्रष्टिकरण दिए । तर, कुरा यतिमा सिमिति रहेन ।

कार्यक्रमको पूरा एपिसोड हिजो प्रशारण भएलगत्तै नयाँ विषय सार्वजनिक भएको छ । त्यो हो, यो एपिसोडबाट कार्यक्रमको एक प्रायोजक होन्डा कम्पनीको नाम र लोगो गायब हुनु । होन्डाको लोगोलाई या त ब्लर गरिएको छ, या छोपिएको छ । प्रस्तोताले प्रायोजकहरुको नाम लिँदा होन्डाको नाम काटिएको छ, जसले गर्दा ठाउँ ठाउँमा ‘जर्क’ सुनिन्छ । होन्डा कार्यक्रमको नियमित प्रायोजक हो र ‘पावर्ड बाइ’ मा होन्डाको नाम र लोगो हुने गथ्र्यो । यस विषयमा हामीले कमेडी च्याम्पियन्सका निर्देशक भण्डारीसँग बुझ्दा उनले कार्यक्रमको प्रायोजनबाट होन्डा पछि हटेको बताए । उनले भने, ‘राजनीतिक व्यक्तिलाई निम्ता गरेकोप्रति असन्तुष्टि जनाएर उहाँहरुले प्रायोजन फिर्ता लिनुभएको हिमालयन टेलिभिजनबाट हामीलाई सुचित गरियो । त्यसैले तयार भइसकेको एपिसोडबाट दिनभरि लगाएर होन्डाको लोगो ब्लर गर्यौं ।’

बुझिएअनुसार ४७ औं एपिसोडको ट्रेलर आएपश्चात नै होन्डाले यो कार्यक्रमको प्रशारण स्थगन गर्न हिमालयन टिभीलाई दवाव दिएको थियो । तर, टिभी व्यवस्थापन यसमा तयार भएन । प्रायोजकलाई गेस्ट मन नपरेकै कारण कार्यक्रमको प्रशारण रोक्नु आफैंमा गैरव्यवसायीक काम हुन्थ्यो । तर, होन्डाले भने जिद्दी नै गर्यो । सहमति जुट्न नसकेपछि होन्डाले हिमालयन टेलिभिजनलाई इमेल पठाएर यस एपिसोडबाट आफ्नो लोगो हटाउन लगाएको हो ।

टेलिभिजन स्रोतले भन्यो, ‘कम्पनीले यो एपिसोडमा आफ्नो लोगो राख्न नचाहेको भन्ने इमेल पठाएपछि हामीले कार्यक्रम उत्पादक कम्पनी थ्री प्रोडक्सनलाई त्यसै बमोजिम गर्न आग्रह गरेका हौं । कार्यक्रमको प्रशारण नै स्थगन गर्नुपर्ने मागमा हामी सहमत हुन सकेनौं ।’ टेलिभिजन व्यवस्थापनले थ्री प्रोडक्सनसँग एमाले सचिव बस्नेतलाई निम्त्याइएको विषयमा कुनै पनि असन्तुष्टि जनाएको छैन ।

‘यसअघि रास्वपा, राप्रपा र कांग्रेसका नेताहरुलाई अतिथि बनाइएको थियो । यसपाली एमाले नेतालाई बोलाउनु अस्वभाविक होइन । त्यसमाथि महेश बस्नेत अहिलेका चल्तापुर्जा नेता नै हुन् । त्यसैले हाम्रोतर्फबाट यसमा कुनै पनि असहमति छैन,’ टेलिभिजन स्रोतले थप्यो । होन्डाका उत्पादनहरु नेपालमा विक्री वितरण गर्ने स्याकार ट्रेडिङ कम्पनीले कार्यक्रम प्रायोजनका लागि हिमालयन टेलिभिजनसँग दिर्घकालीन सम्झौता गरेको छ । गेस्टकै कारण देखाएर कम्पनीले सम्झौता एकतर्फीरुपमा भंग गर्न मिल्ने अवस्था भने देखिँदैन । कम्पनीका अध्यक्ष सौरभ ज्योतिसँग यो विषयमा बुझ्न खोज्दा उनको फोन उठेन ।

कार्यक्रमको ट्रेलर र फुल एपिसोडले राम्रै भ्यूज पाइरहे पनि बस्नेतप्रति दर्शक प्रतिक्रिया भने खासै सकारात्मक छैनन् । कतिपयले उनलाई अतिथिको रुपमा निम्त्याइएकोप्रति नै रोष व्यक्त गरेिका छन् । कलाकारहरुको प्रस्तुतिले भने तारिफ पाइरहेको छ । यो एपिसोडमा प्रभात लामा र कर्मासिंह लामाको प्रस्तुति हेर्न लायक छ । प्रभातले जेनजी अगूवा सुधन गुरुङ र कर्माले प्रधानमन्त्री सुशीला कार्कीको क्यारिकेचर गरेका छन् ।

यसअघिका एपिसोडमा गेस्टलाई अत्यधिक ‘रोस्ट’ गर्ने प्रचलन भए पनि यसपाली भने बस्नेतले त्यस्तो सामना गर्नु परेन । कमेडी च्याम्पियन्सका पहिलो लेयरका ५ जना कलाकारहरु ९सुमन कार्की, सुमन कोइराला, कैलाश कार्की, मेक्सम गौडेल र भरतमणी पौडेल० अहिले विदेशमा छन् । उनीहरुको अनुपस्थितिमा अहिले दोस्रो लेयरका कलाकार र केही अतिथि कलाकारलाई ल्याएर निर्देशक भण्डारीले कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । बस्नेत ‘रोस्ट’ बाट बच्नुको प्रमुख कारण मुख्य कलाकारहरुको अनुपस्थिति नै हो । कार्यक्रमको होस्टसमेत रहेका विशाल भण्डारीले पनि बस्नेतलाई खासै पेल्न चाहेनन् । बरु बस्नेतले भक्तपुरको व्यापक विकास गरेको भनेर उनको पटक पटक तारिफ गरेका छन् । स्रोतः नेपाल प्रेस