भदौ १२ गते । कांग्रेसभित्रको विवादले उपसभामुख इन्दिरा रानामगरलाई तत्काल हटाउने कदमबाट सत्तारुढ दल पछि हटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आपसी सहमतिमा उपसभामुख रानामगर विदेश भ्रमणमा रहेकै बेला गत भदौ ३ गते पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्ने प्रयोजनका लागि आआफ्ना दलका सांसदहरुको हस्ताक्षर गरिएको थियो ।
उपसभामुख इन्दिरा रानामगर
उपसभामुख विदेश भ्रमणमा भएकै बेला उनलाई हटाउने प्रस्ताव न्यायोजित नहुने भन्दै सरकारमा सहभागी र सरकारबाहिर रहेको जसपा नेपालले सुझाएपछि दुई दलले स्वदेश फर्किएपछि कदम अघि बढाउने भन्दै हस्ताक्षर भने जारी राखेका थिए । एक एनजीओ फोरमको कार्यक्रममा सहभागी हुन साउन ३० गते अमेरिका गएकी रानामगर शुक्रबार फर्कंदै छिन् । यसबीचमा कांग्रेसबीचमा नै प्रस्ताव दर्ता गर्न नहुने दबाब बढेपछि कांग्रेस सभापति देउवा हच्किएका हुन् । कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उपसभामुखविरुद्ध तत्काल कुनै पनि प्रस्ताव दर्ता नगर्न सभापति देउवालाई भेटेरै आग्रह गरेका थिए ।
नेता शेखर कोइरालाले पाँच दिनअघि ‘वान टु वान’ भेटमा र महामन्त्री थापा र शर्माले देउवाले बोलाएको बैठकमा यस्तो आग्रह गरेपछि सभापति देउवा तत्काल अघि बढ्ने मनस्थितिबाट पछि हटेको कांग्रेसका एक पदाधिकारीले बताए । ‘शेखर दाइले उपसभामुखलाई हटाउँदा नागरिक तहमा असन्तुष्टि बढ्ने र त्यसले आगामी कात्तिक १७ गते रुपन्देहीमा हुने निर्वाचनलाई समेत ठूलो असर गर्ने भएकाले रोक्नुहोस् भनेर प्रस्ट भन्नुभयो’ कोइराला निकट एक केन्द्रीय सदस्यले भने,‘रुपेन्देहीको उपनिर्वाचन सम्ममा केही नगर्ने भनेर उहाँलाई आश्वसन दिनु भएको छ ।’ नेता कोइराला र उनी पक्षमा रहेका अधिकांश सांसदरुले हस्ताक्षर समेत गरेका छैनन् ।
सभापति देउवाले सोमबार बोलाएको बुढानिलकण्ठ बैठकमा महामन्त्रीद्वय थापा र शर्माले पनि उपनिर्वाचनलाई केन्द्रमा राखेर तत्काल उपसभामुख रानामगरविरुद्ध कुनै पनि कदम अघि नबढाउन आग्रह गरेका थिए । भदौ २ गते राति बालुवाटारमा दुई शीर्ष नेताबीच भएको सहमतिका आधारमा उपसभामुखलाई हटाउने एकाएक सक्रियता बढेपछि महामन्त्री शर्माले सार्वजनिक रुपमानै कडा टिप्पणी गरेका थिए ।