काग्रेस,एमाले र नेकपाका चुनावी कमान्डर क्रमश: युक हाँ वीर हाङगाम (डम्बर),विजय प्रकाश वनेम र दीपेन्द्र पोमू (दीपेन) ।
फागुन १० गते । प्रतिनिधिसभा चुनाव केन्द्रित विहिबारको वहसमा विजय प्रकाश वनेमलाई पत्रकार आनन्द गौतमले सोधे,‘खेल प्रसाद बुडाक्षेत्रीलाई (पराग) यो पटक छातीमा प्रतिनिधिसभाको लोगो लगाउने बनाउनुहुन्छ ?’ जवाफमा मैवाखोला गाउँपालिका अध्यक्ष समेत रहेका वनेमले भने,‘विगत याद छैन् । चर्चा नगरौ । बर्तमानमा पराग जीलाई जिताउने हो ।’ २०७९ को प्रतिनिधिसभा चुनावमा बुडाक्षेत्री काग्रेस–माओवादीकोतर्फबाट उम्मेदवार थिए । तर एमाले उम्मेदवार योगेश भट्टराईसँग झिनो मतले पराजित भए । त्यो चुनावमा पराग र वनेमसहित केही नेता कार्यकर्ताबिच राम्रो तालमेल अभावमा पराजित भएको टिप्पणी रह्यो । यद्यपी परागले फुङलिङ नगरपालिकाबाट अपेक्षा गरेजस्तो मत नपाएकाले हार वेहोर्नुपरेको तर्क पनि गरे । जितको आधार के हो ? भन्ने जिज्ञासमा वनेमले भने,‘राज्य व्यवस्था परिवर्तन गर्न योगदान दिएको पार्टी हो । राष्ट्रिय मुद्धाको जननी हो । र, उम्मेद्वार योग्य छन् । जितको मुख्य आधार यहि हो ।’ परागसँग इमान्दारीता छ । विहान बेलुकी जनताको सेवामा समय खर्चिएको व्यक्ति हो । वनेमले भने,‘ताप्लेजुङको मुद्धा बोकेको व्यक्ति हो । ताप्लेजुङको भविष्यसँग जोडिएको योजना सम्पन्न गर्न सक्ने खूवी भएको व्यक्ति हो ।’
नेपाली काग्रेस सचिव युक हाँ वीर हाङगाम (डम्बर) लाई प्रश्न सोधे,‘काग्रेसको उम्मेद्वार (गजेन्द्र प्रसाद तुम्याङ) अरु भन्दा किन अब्बल ?’ सचिव हाङगामले जवाफ दिदै भने,‘जिल्लाको वडामा मात्र होइन । टोल–टोलमा पुगेर समस्या बुझेका व्यक्ति हुन् ।’ राणा शासन र राजतन्त्र अन्त्य गरेर २०६२÷६३ को जनआन्दोलन नेतृत्व गरेको पार्टी हो । देश चल्न संविधान चाहिन्छ । संविधान दिने पार्टी हो । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको भावना बुझेको पाटी हो । हाङ्गामले भने,‘काग्रेसभित्र न विवाद छ । न गुट । गगन कुमार थापा पार्टीको सभापति भएपछि सब एकजुट छौ ।’ पार्टी सभापति थापा देश कसरी सञ्चालन गर्ने भन्ने राजनीतिक सुझबुझ भएको व्यक्ति भएकाले यो पटक काग्रेसले स्प्रष्ट बहुमत ल्याउने हाङ्गामले दाबी गरे ।
नेकपा एमाले ताप्लेजुङ कार्यवहाक अध्यक्ष दीपेन पोमूले भने,‘क्षितिज थेबे देशमा यूवाको नेतृत्व गरेको यूवा हो । यूवा सँघको केन्द्रिय अध्यक्ष पनि हो । सामाजिक काम गर्न सक्ने खूबी भएको व्यक्ति हो ।’ जेन्जी आन्दोलनको मर्म अनुसार युवालाई राजनीतिमा ल्याउनु हो । त्यही भएर कोशी प्रदेशमा धेरै जना यूवा उम्मेदवार छन् । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष समेत रहेका पोमूले भने,‘गाउँ–गाउँमा पुग्यौ । उत्साह छ । नतिजा हाम्रो पक्षमा छ ।’
कार्यक्रमको दोश्रो चरणमा तीनै जना अतिथिलाई प्रश्न गरे । जुन सामाजिक सञ्जालमा आएका थुप्रै प्रश्न लिए । श्रोताको प्रश्न उदृतगर्दै गौतमले सोधे,‘बुवा भुपेन्द्र थेबे र आमा उर्मिला थेबे सांसद बने । अब छोरा क्षितिज थेबे सांसदको उम्मेदवार छन् । किन ?’ पार्टीमा किन परिवाद ? भन्ने प्रश्नमा पोमूले भने,‘उहाँहरुको आ–आफ्नो योगदान छ । त्यहीभएर उम्मेद्वार हुन हकदार हुन् ।’ दलहरुसँग बोरा बोरा पैसा कहाँबाट आउँछ भन्ने श्रोताको प्रश्नमा पोमूले भने,‘हामी राजनीतिसँगै पेसा गर्छौ । बरु तपाई (प्रश्नकर्ता श्रोता) पनि राजनीतिमा आउनुहोस् । अनि मात्र तपाईलाई थाहा हुन्छ ।’
वनेमका अनुसार सबै जना पेसा व्यवसायमा हुनुपर्छ । राजनीति कमाई खाने भाडा होइन् । वनेमले थपे,‘इमान्दार रुपमा हामी राजनीतिमा हुनुपर्छ । सेवाको रुपमा काम गर्नुपर्छ । हामी त्यही गरिरहेका छौ ।’ वनेमले जिल्लाको विकास मोडलबारे बैज्ञानिक तथा तथ्यगत रुपमा तर्क गरे । वनेमले भने,‘जिल्लामा एउटा विशेषज्ञसहितको गज्जबको अस्पताल हुनुपर्छ । तर हामी चुकेका छौ । अबचाहिँ ढिला गर्नुहुँदैन् ।’
काग्रेस सचिव हाङगामले भने,‘हामी तीन दल भाइरस होइनौ । यो देशमा विकास गर्ने दल हो । यी ३ दलका नेताले रगत बगाएर ल्याएको व्यवस्था हो । त्यही व्यवस्थामा टेकेर हामीमाथि हिलो छ्याप्ने काम किन ?’ जेन्जी आन्दोलन पछि देश जलाउने र देश बनाउनेबिच चुनावी प्रतिस्पर्धा हुने बताए । हाङगामलाई सोधे,‘काग्रेसको प्रतिस्पर्धी को हो ?’ हाङ्गामले जवाफ दिए,‘एमाले मुख्य प्रतिस्पर्धी हो । तर हामी जित्छौ । किनकी निष्ठाको राजनीति गर्ने स्वभाव मुख्य गहना हो ।’ विपी कोइराला, गणेशमान सिंह र शुसिल कोइराला जस्ता सादगी नेताका कार्यकर्ता हुन् । वनेमलाई सोधे,–‘नेकपाको मुख्य प्रतिस्पर्धी को हो ?’ वनेमले भने,‘पराग जी जिल्लाको कुना कन्दरामा पुगेको र समस्या बुझेको पात्र हो । तल्लो तह र माथिल्लो तहबिच पुलको भुमिका निर्वाह गर्ने क्षमता छ । तसर्थ मुख्य प्रतिस्पर्धी काग्रेस होइन, एमालेसँग हो ।’ ताप्लेजुङ किन पछि पर्यो भन्ने विषयम समिक्षा हुनुपर्नेमा वनेमले जोड दिए । उनले जनताले मत परिवर्तन गर्ने आशा व्यक्त गरे ।
पोमूलाई सोधे,‘एमालेको प्रतिस्पर्धी को हो ?’ पोमूका अनुसार ७ हजार पार्टी सदस्य छ । १८ वटा जनवर्गीय संगठन छ । टोल कमिटी सक्रिय छ । २०४६ यता ताप्लेजुङमा एमाले फस्टाएको छ । विगतमा चुनावमा अरु दल गठबन्धन हुँदा पनि एमाले उम्मेद्वार विजयी भएको क्षेत्र हो । एमालेले विकासमा गरेका फेहरिस्त थुप्रै छन् । सामाजिक सञ्जालमा विकास भएन भनेर कराउनु जस्तो सजिलो छैन्, विकास गर्न । कुनै काम सुरु गर्न विधि पुरा गर्नुपर्छ । त्यो भनेको समय खर्च गर्नु हो । पोमूले भने,‘यो चुनावमा एक दुई वटा दल मिलेर सरकार नबन्न सक्छ । अब सरकार अस्थायी हुने खतरा छ । विकासको योजना भताभुङ यो चुनावपछि हुने अवस्था छ ।’
पुराना दलमा बसेर अवसर लिएकाहरु नयाँ दलमा छन् । तर कुनै टिप्पणी छैन् । उनले भने,‘फेक आइडी बनाएर तथ्यहिन आरोप नलगाऔ । सभ्य समाज बनाऔ ।’ वनेमले भने,‘गाली गलौज नगरौ । मर्यादा मात्र होइन,निर्वाचन आचारसंहिता ख्याल गरौ । राजनीतिक संस्कार सिकौ । स्वस्थ्य आलोचना गरौ । आ–आफ्नो भिजन राखौ । झण्डा च्यात्ने जलाउने र जंगली स्वभाव नदेखाऔ ।’ यो पञ्चायत होइन् । त्यही भएर रचनात्मक र सकारात्मक रुपमा आलोचना गरौ । अनि सबै बदलिनसक्नुपर्छ । हाङगामले भने,‘फागुन २१ गतेको चुनाव सफल बनाऔ । चुनाव गर्नु भनेको संविधान जोगाउनु हो । व्यवस्था सफल बनाउन चुनाव गर्नु हो । पार्टी हारेर केही फरक पर्दैन् । तर देश र जनताले हार्नु हुँदैन् । तथ्यहीन आरोप नलगाऔ । किनकी कसैको भलो गर्दैन् ।’