setoveda logo
४ वैशाख २०८३, शुक्रवार

कांग्रेस बागमती संसदीय दल नेताको छिनोफानो आज, लामाले राजीनामा नदिए मतविभाजन

साउन १२, २०८२, सोमवार

साउन १३ गते । मुख्यमन्त्रीसमेत रहेका कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मंगलबार छिनोफानो हुने भएको छ । लामाले राजीनामा नदिए मतविभाजन हुने भएको हो । सोमबारको छलफल मंगलबार बिहान १० बजे बस्ने गरी स्थगित भएको छ ।

मुख्यमन्त्रीसमेत रहेका कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा

मुख्यमन्त्रीसमेत रहेका कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय प्रतिनिधि राजेन्द्र केसीले सोमबारको छलफलले अविश्वासको प्रस्तावलाई सहमतिमा टुंग्याउने गरी निष्कर्ष निकालेको बताए । ‘सोमबार दिनभर औपचारिक र अनौपचारिक छलफल भयो । मोटामोटी सहमतिमा पुगेका छौँ,’ केसीले भने, ‘वर्तमान संसदीय दलको नेताले मार्ग प्रशस्त गर्ने भन्ने छ । खालि यसको मोडालिटी कस्तो हुने भन्ने मात्रै कुरा हो । मंगलबार १० बजेपछि टुंगिन्छ ।’ दुवै पक्षबिच सहमति भएमा मत विभाजन प्रक्रिया अगाडि नबढ्ने उनले बताए ।

मुख्यमन्त्री लामानिकट रहेका उपनेता रामकृष्ण चित्रकारले पनि अविश्वासको प्रस्तावलाई सहमतिमै टुंग्याउने गरी छलफल अगाडि बढेको बताए । ‘अविश्वासको प्रस्तावको विषयमा सहमति हुन सक्छ कि भन्ने विषयमा गहन छलफल भएको छ । सहमतिको विषयलाई सम्बोधन गर्दा यसले पार्टी र आमरूपमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने विषयमा सबैले सचेत भएर छलफल गरेका छौँ,’ उनले भने, ‘सहमतिको कुन मोडालिटीमा जाने भन्ने विषयमा निष्कर्षमा पुगेका त छैनौँ, तर अविश्वासको प्रस्ताव फिर्ता गरेर वर्तमान संसदीय दलका नेताले मार्गप्रसस्त गर्न सकिन्छ कि भन्ने विषयमा भने छलफल भएको छ ।’

कांग्रेस प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको अगुवाइमा संसदीय दलका नेता तामाङविरुद्ध गत शुक्रबार २१ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । बागमतीमा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको नेता परिवर्तनका लागि १९ जनाको मत आवश्यक पर्छ । संसदीय दलको नेताको टुंगो लागे बागमतीमा मुख्यमन्त्रीको विषयले प्रवेश पाउनेछ । कांग्रेसको विधानअनुसार र गठबन्धन दलसँगको सहमतिअनुसार कांग्रेसको संसदीय दलको नेता नै मुख्यमन्त्री हुने केसीले बताए ।