setoveda logo
४ वैशाख २०८३, शुक्रवार

काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने

पुष ९, २०८१, मङ्गलवार

ताप्लेजुङ — ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने भएको छ । काबेलीमा गत वर्ष पक्की पुल सञ्चालनमा आएपछि यहाँको बेलिब्रिज फुङलिङ–ओलाङचुङगोला–टिपताला भञ्ज्याङ सडक खण्डको सुकेपानीमा राख्ने तयारी भएको हो ।

उत्तर–दक्षिण सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला सडक आयोजना प्रमुख सिंहबहादुर विष्टका अनुसार बेलिब्रिज सार्नका लागि यसै साता टेन्डर खोल्ने तयारी छ । यसका लागि क्षेत्रीय कार्यालयसँग अनुमति लिने काम भएको विष्टले बताए ।

यसै आर्थिक वर्षमा सक्ने गरी सुकेपानी र जोङगीनमा पुल बनाएपछि चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङसम्म बर्खामा पनि यातायात संचालन गर्न सकिने दाबी कार्यालयको छ । काबेलीको बेलिब्रिज २०५६ सालमा बनेको हो ।

तत्कालीन यातायात मन्त्री बलबहादुर राईले २०५३ सालमा शिलान्यास गरेको यो बेलिब्रिजको २०५६ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए ।