setoveda logo
४ वैशाख २०८३, शुक्रवार

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ  ?

पुष १७, २०८२, बिहिवार
चुनावी गठबन्धन

चुनावी गठबन्धन

पुस १७ गते । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल कांग्रेस र एमालेमा चुनावी गठबन्धनबारे छलफल चल्न थालेको छ । प्रारम्भिक रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भए पनि यसले आकार लिने निश्चित नभएको नेताहरूले जनाएका छन् ।

१७ असार २०८१ मा कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री भएका एमाले अध्यक्ष ओलीले तत्कालीन सातबुँदे सहमतिबाट एमाले पछि नहटेको भन्दै चुनावमा सहकार्य गर्न देउवालाई प्रस्ताव गरेका छन् । ११ माघमा हुने राष्ट्रिय सभा र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन गर्ने प्रस्ताव एमालेबाट आएको कांग्रेस नेताहरूको भनाइ छ । स्थानीय तह प्रमुखरउपप्रमुख र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गर्ने समूह विजयी हुने निश्चितप्रायः छ । यही आधारमा प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने विषयमा दुई शीर्ष नेताबीच छलफल भइरहेको नेताहरूले बताएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नेबारे नेतृत्वबीच छलफल भइरहेको बताउँछन् कांग्रेस प्रवक्ता प्रकाशशरण महत । उनका अनुसार राष्ट्रिय सभाका लागि एमाले र नेकपासँग समानान्तर रूपमा छलफल भइरहेको छ । ‘प्रतिनिधिसभा पनि मेरो विचारमा आवश्यकताका आधारमा केही ठाउँमा समीकरण हुन सक्छ तर पहिला ९माओवादीसँग० जस्तो सिट नै बाँडेर गरिने गठबन्धन कांग्रेसमा धेरै रुचाइएको छैन,’ उनी भन्छन्, ‘गठबन्धन नगरी एक्लै चुनावमा जाँदा नै राम्रो हुन्छ भन्ने मेरो पनि धारणा छ ।’

कांग्रेसमा देउवा र उनीनिकट केहीबाहेकका नेता भने गठबन्धनको पक्षमा छैनन् । कांग्रेस नेता शेखर कोइराला स्थानीय तहका नेता तथा कार्यकर्ता पनि गठबन्धनको पक्षमा नरहेको दाबी गर्छन् । ‘गठबन्धनका विषयमा शेरबहादुरजी र केपी ओलीजीबीच छलफल भएको विषयमा मलाई जानकारी छैन । तर कांग्रेस एक्लै चुनाव लड्नुपर्छ । कांग्रेस मात्रै होइन, अरू पार्टीका नेताबाट पनि एक्लाएक्लै चुनाव लड्नुपर्छ भन्ने धारणा आइरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘कांग्रेसका कार्यकर्ता आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न नपाएर दिक्क छन् । त्यसैले निर्वाचन अगाडिको गठबन्धनको पक्षमा म छैन ।’

एमाले सचिव भानुभक्त ढकाल राजनीतिक प्रणालीमा संकट आउँदा संवाद हुनु, सहकार्य गरिनु स्वाभाविक हुने बताउँछन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, संविधानलाई ट्र्याकमा ल्याउने विषयमा प्रमुख दल सहमत छन्,’ उनी भन्छन्, ‘यो राजनीतिक प्रणालीमा संकट आयो भने त्यसलाई जोगाउन प्रमुख दलबीच सहकार्य हुनुपर्छ ।’ भयरहित वातावरणमा स्वस्थ प्रतिस्पर्धा हुने अवस्थामा एमाले कुनै दलसँग गठबन्धन नगरी चुनावमा जाने सचिव ढकालको भनाइ छ । एमाले महासचिव शंकर पोखरेल भने अझै पनि निर्वाचन हुने निश्चित नभएकाले चुनावी गठबन्धनबारे छलफल गर्नु अर्थपूर्ण नभएको बताउँछन् । प्रमुख राजनीतिक दलहरू अहिले संविधानलाई सही मार्गमा ल्याउन तल्लीन हुनुपर्ने उनको भनाइ छ । ई कान्तिपुर