बैसाख ८ गते । आफ्नो जन्मदिनको अवसर पारेर ताप्लेजुङका व्यवसायी तथा नेपाल नेत्रज्योति संघका आजीवन सदस्य दुर्गाप्रसाद पौडेलले नेपाल नेत्रज्योति संघ ताप्लेजुङले स्थापना गरेको ‘वृहत्त अक्षयकोष’मा १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन्। नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार पौडेलले आफ्नो जन्मदिन (बैशाख ८) को अवसर पारेर १ लाख १ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गरेका हुन् । उक्त चेक नेत्रज्योति संघ ताप्लेजुङ सभापति राजकुमार गुरुङलाई हस्तान्तरण गरेका छन्। पौडेलले प्रदान गरेको रकम नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखाले अक्षयकोष खातामा जम्मा गर्ने भएको छ । शाखाका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि वृहत्त अक्षयकोष स्थापना गरेको छ । सोहि कोषमा पौडेलबाट प्राप्त भएको रकम जम्मा गरी त्यसबाट प्राप्त ब्याज आँखा स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि खर्च गर्ने नेत्रज्योति संघले योजना बनाएको छ ।
ताप्लेजुङका सफल युवा व्यवसायी पौडेलले दृष्टिबिहिन हुनबाट बचाउने तथा दृष्टीको समस्यामा परेकाहरुलाई उपचारका लागि सहयोग गर्ने असल मनशायका साथ नेत्रज्योति संघले स्थापना गरेको अक्षयकोषमा जन्मदिनमा हुने फजुल खर्च कटाएर आफुले सहयोग गरेको बताउनुभयो । श्रीमति संगिता,छोरी कृषा र छोरा कृष गरी परिवारकैतर्फबाट उक्त सहयोग प्रदान भएको पौडेलले जानकारी दिए । संघले स्थापना गरेको अक्षयकोषमा यसअघि पाथीभरा याङवरक गाउँपालिकाका खगेन्द्र गुरुङले १ लाख रुपैयाँ जम्मा गर्नु भएको छ । संघका शाखा सभापति गुरुङले आँखा स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउन आफुहरुले वृहत्त अक्षयकोष स्थापना गरेको र अक्षयकोषमा रकम जम्मा गरी आँखा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने महान उद्देश्यमा मनकारी व्यत्तित्वहरु जोडिन थालेको भन्दै सहयोगी व्यत्तित्वहरुलाई धन्यवाद दिए । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सेवालाई प्रभावकारी र सोझै जनताको पहुँचसम्म पु¥याउने उद्देश्यले‘वृहत्त अक्षयकोष स्थापना गरेको छ । त्यसलाई कानुनी बैधता दिन उसले गत पुस २३ गते बार्षिक साधारणसभाबाट ‘नेपाल नेत्रज्योति संघ ताप्लेजुङको अक्षयकोष स्थापना,सञ्चालन तथा व्यवस्थापन’ सम्वन्धी विनियम पारित गरी कार्यान्वयनमा लगेको जनाएको छ ।
अक्षयकोष सञ्चालनको मुख्य उद्देश्य आँखा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै आँखा स्वास्थ्य सेवाका गतिविधिलाई सेवा क्षेत्रका जनतामा सहज र सरल ढंगले अघि बढाउनु,विपन्न तथा असाहाय परिवारका सदस्यलाई प्रकृति र अवस्था हेरी निःशुल्क रुपले आँखा स्वास्थ्य सेवा प्रदान गर्नु,आँखा स्वास्थ्य सेवाका गतिविधिलाई ग्रामीण र दुर्गम भेगसम्म बिस्तार गर्दै सेवा क्षेत्रका नागरिकसम्म सहज ढंगले आँखा स्वास्थ्य सेवा प्रदान गर्नु रहेको नेत्रज्योति संघका जिल्ला सचिव युवराज गिरीले जानकारी दिए । अक्षयकोष दाताले दिएको रकमका लागि छुट्टै बैंक खाता सञ्चालन गरी अक्षयकोषको ब्याजबाट प्राप्त रकमको ८० प्रतिशत हिस्सा अति विपन्न,निमुखा,असाहाय र उपचारको पहुँचभन्दा बाहिर रहेका नागरिकप्रति सर्मपित गर्ने र २० प्रतिशत हिस्सा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले बनाएको कार्ययोजना अनुसार आँखा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने योजना बनाईएको समेत नेत्रज्योति संघले जनाएको छ ।