विजेता र उपविजेता टिमका खेलाडी पुरस्कारस्वरुप पाएको अलैचीको बोरा काँधमा बोक्दै । तस्बिर: गोलनेपाल
मंसिर १२ गते । भुँईको सियो देख्न नसक्नेगरिको साँझ परेको थियो । जब मुख्य रेफ्री विके थलङले अन्तिम सिटी फुके । तब मैदानभित्र खेलाडी र मैदान बाहिर समर्थकले खूसी मनाउन थाले । मैदानभित्र अंकमाल गर्दै खुसीमा रमाउने टिम थियो,–गणेशचोक पाँचथर । हिमाली तोक्पेगोला पापुङ ताप्लेजुङ उपविजेता । पाँचथर १–० ताप्लेजुङ । फाइनलमा निर्णायक गोल गर्ने खेलाडी हुन्, निरोज लिङ्देन लिम्बु । अनि केहीवेरमै पुरस्कार वितरण हेर्न स्टेजको अघिल्लो भेगमा दर्शकको भिड जम्मा हुन थाल्यो । त्यतिबेलासम्म साँझ छिप्पिसकेको थियो । लाग्थ्यो, हिउँदे चिसो नै छैन् । स्टेजमा जडान गरिएका झिलीमिली बत्तिले उज्यालो दिन थाल्यो । विधागत पुरस्कार वितरण सुरु भयो । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त वहादुर कार्की र आयोजक अध्यक्ष विजय साँवा लगायतले क्रमश पुरस्कार वितरण गरे ।
मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त वहादुर कार्की र अध्यक्ष विजय साँवा मुख्य रेफ्रिलाई बल हस्तान्तरण गर्दै । तस्बिरःगोलनेपाल
उत्कृष्ट गोलरक्षक पाँचथरका असन लिम्बु र उत्कृष्ट डिफेन्डर पाँचथरका सौगात लिम्बु घोषित भए । हाइस्कोरर पाँचथरका निरोज लिङदेन र ताप्लेजुङका सौर्य राहुत भए । प्रतियोगीताका सर्वोत्कृष्ट खेलाडी ताप्लेजुङका पवन नयोङ लिम्बु भए । सबै विधाका उत्कृष्ट खेलाडीले जनही पाँच÷पाँच हजारका दरले नगद पुरस्कार पाए । विधागत पुरस्कार वितरण सकियो । अनि सुरु भयो विजेता र उपविजेतालाई पुरस्कार वितरण गर्ने क्रम ।
पुरस्कारका लागि अलैचीको बोरा ल्याउँदै । साँवामा मंसिर ११ गते अलैची प्रतिमन (४० केजी) ९६ हजारको मुल्य गर्यो ।
अतिथिको कुर्सी अगाडी राखिएको थियो,–अलैचीको बोरा । जुटको बोरामा राखिएको त्यो अलैची विजेता र उपबिजेतालाई दिनका लागि हो । बोराभित्र प्रथम पुरस्कार ३ लाख २ हजार ५२ रुपैयाँ र दोश्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ नगद बरावरको अलैची थियो ।
फाइनलमा निर्णायक गोल गरेका पाँचथरका निरोज लिङ्देन म्यान अफ दि म्याच घोषित । पुरस्कार १ केजी अलैची । तस्बिरः गोलनेपाल
टेबलमाथि ट्रफी,मेडल,प्रमाणपत्र र मायाको चिनो । तर सबैको नजर अलैचीको बोरातिर सोझिएको थियो । पुरस्कार वितरणको अन्तिम क्षणसम्म अडिएका दर्शकको हात–हातमा मोबाइल थियो । उनीहरु फोटो र भिडियो कैद गर्न ब्यस्त बनेँ । पोडियमबाट उद्घोषकले विजेता र उपविजेतालाई पुरस्कार दिनका लागि प्रमूख अतिथि र अतिथिलाई अनुरोध गरे । विजेता र उपविजेताले ट्रफी,मेडल र प्रमाणपत्र पाउनु नौलो थिएन् । तर जब विजेता र उपविजेता टिमका खेलाडी स्टेजमा प्रवेश गरे । ताली पिट्ने,सुसेल्ने र हिप हिप हुर्रे आवाज घन्किन थाल्यो । अलैचीको बोरा काँधमा हालेपछि तेम्बाबस्ती हिप हिप हुर्रे आवाजले गुन्जयमान बन्यो । बस्ती नजिकैको फङफङदेन झरनाको आवाज ओझल पर्न थाल्यो । अघिसम्म दर्शकले खचाखच भरिएको मैदान सुनसान बन्दै गयो ।
विजेता टिम पाँचथरको गणेशचोक टिम । तस्बिरः गोलनेपाल
उपविजेता हिमाली तोक्पेगोला पापुङ । तस्बिरः गोलनेपाल
अलैची र फङफङदेन झरनाको प्रचार प्रसारका लागि आयोजित प्रतियोगीता आयोजकले सफलतापूर्वक सम्पन्न गर्यो । मंसिर ७ गतेदेखि सुरु भएको प्रतियोगीता फाइनलको अघिल्लो दिन साँझ सांस्कृतिक कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन पनि दिलायो । मिक्वाखोला गाउँपालिका ४ साँवासहित चारैतिरबाट खेल र झरना अवलोकन गर्ने मौका मिल्यो । अझ भनौ, फुटबलसँग अलैची र फुटबलसँग फङफङदेन झरना जोड्ने रचनात्मक उपाय अपनायो । अन्ततः फुटबलमा अलैची पुरस्कार र अतिथिलाई पनि मायाको चिनो अलैची नै दिएर इतिहास राख्न सफल भयो । खेलसँग कृषि र खेलसँग पर्यटन जोड्यो । आयोजक परिवारलाई धेरै–धेरै बधाई !
गोल नेपालका तुलसी सिटौलासँग अन्तवार्ता दिदैँ अध्यक्ष विजय साँवा । तस्बिरः गोलनेपाल
मुख्य रेफ्री बिके थलङ । तस्बिरः गोलनेपाल
सामूहिक तस्बिर खिचाउँदै ।
बलका लागि संघर्षगर्दै ।
रेफ्रिहरु र दुवै टिमका कप्तान ।