setoveda logo
४ वैशाख २०८३, शुक्रवार

इजरायल र इरान युद्धविरामका लागि सहमत भएको ट्रम्पको दाबी, पहिले इरान र १२ घण्टापछि इजरायलले आक्रमण रोक्ने

असार ९, २०८२, सोमवार

असार १० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम हुने दाबी गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई यो घोषणा गर्दैगर्दा खुसी महशुस भएको छ । इजरायल र इरानबीच एक पूर्ण युद्धविराम १२ घण्टामा । अर्थात् अबको ६ घण्टापछि लागू हुनेछ । पहिलो १२ घण्टाका लागि इरान तयार हुनेछ । र अर्को १२ घण्टामा इजरायलले हतियार बिसाउनेछ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

उनले दुवै देशका नेताहरुलाई धन्यवाद दिँदै १२ दिनदेखि चलिरहेको युद्ध समाप्त पार्नका लागि सहयोग गरेको उल्लेख गरेका छन् । साथै उनले यो युद्ध कैयौं वर्षसम्म चल्न सक्ने भन्दै पहिले कहिल्यै नदेखिएको मृत्यु र ध्वंस हुनेसक्ने पनि बताएका छन् । ‘प्रधानमन्त्री नेतान्याहु, इजरायल र इरानका नागरिकलाई बधाई, जो मध्यपूर्वमा शान्तिको चाहना राखिरहेका थिए । यो विश्वका लागि एक महान दिन हो,’ उनले भनेका छन् । यस्तै एक देशले युद्धविरामको सुरुवात गरेपछि अर्कोले पनि कारबाही रोक्ने उनको भनाइ छ ।

रोयटर्स न्युज एजेन्सीका अनुसार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानलाई अमेरिकाको युद्धविरामको प्रस्ताव स्वीकार गर्नका लागि मनाएको हो । यो कुराकानी इरानी अधिकारीहरुसँग टेलिफोनमा भएको थियो । ट्रम्पले इजरायल पनि युद्धविरामका लागि तयार रहेको र यसका लागि कतारसँग इरानलाई मनाउन सहयोग मागेको बताएका छन् । इजरायलका प्रवास मामिलामन्त्री अमीचाई चिकलीले इजरायल र इरानबीच युद्धविरामको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै इजरायली सैनिक, पाइलट, गुप्तचर निकायका अधिकारी र अन्य मानिसहरुलाई धन्यवाद दिएका छन् । चिकलीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि ध्यवाद दिँदै भनेका छन्, ‘यो साहसिक निर्णय इतिहासमा विश्वास, साहस र नैतिक मुखरताका लागि याद गरिनेछ ।’

सीएनएनका अनुसार इजरायलका प्रधानमन्त्री नेतान्याहुले आफ्ना सुरक्षा परिषद्का सदस्यहरुसँग बैठक गरिरहेका छन् । यो बैठकमा रणनीतिक मामलाका मन्त्री रोन डर्मर, विदेशमन्त्री गिदोन सार, रक्षामन्त्री इजरायल कात्ज, शास पार्टीका प्रमुख आर्ये डेरी, राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–ग्विर र वित्तमन्त्री बेजालेल स्मोट्रिज सहभागी छन् । मंगलबार राति ट्रम्पले युद्धविरामको दाबी गरेका थिए । त्यसअघि इरानले कतारमा रहेको अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको थियो ।