चैत २९ गते । बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई शनिबार साँझ मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । उनलाई अत्यधिक थकान र छातीमा सङ्क्रमणको समस्या देखिएको छ । यसअघि उनलाई हृदयघात भएको भन्ने जानकारी बाहिरिएको थियो । तर उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, ‘मेरी हजुरआमा आशा भोसले अत्यधिक थकान र छातीको सङ्क्रमणका कारण अस्पतालमा भर्ना हुनु भएको हो। उहाँको उपचार भइरहेको छ र चाँडै सबै ठीक हुने अपेक्षा गरेका छौँ । हामी छिट्टै राम्रो खबर दिनेछौँ ।’ अस्पतालका चिकित्सकले दिएको जानकारी अनुसार, आशा भोसलेको अस्पतालको आपतकालीन चिकित्सकीय सेवा इकाइ ९एचइओसी०मा उपचार भइरहेको छ।
बलिउडकी दिग्गज गायिका आशा भोसले
१२ हजारभन्दा बढी गीत गाएकी छन्
आशा भोसलेले आफ्नो करियरमा १२ हजारभन्दा बढी गीत गाइसकेकी छन् । उनका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज पनि सदाबहार छन् । तर उनको सङ्गीत यात्रा त्यति सजिलो भने थिएन । आशा भोसले प्रसिद्ध रंगमञ्च कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी र महान गायिका लता मंगेशकरकी कान्छी बहिनी हुन् । उनी मात्र ९ वर्षकी हुँदा उनका बुबाको निधन भएको थियो । त्यसपछि परिवारलाई सहयोग गर्न उनले दिदी लता मंगेशकरसँगै गायन सुरु गरेकी थिइन् ।
१६ वर्षको उमेरमा आशा भोसलेले परिवारको इच्छाविरुद्ध भागेर लता मंगेशकरका सेक्रेटरी गणपतराव भोसलेसँग विवाह गरेकी थिइन् । यस विवाहको लता र परिवारले कडा विरोध गरेका थिए, जसका कारण लामो समयसम्म उनीहरूबीच बोलचाल समेत बन्द भएको थियो ।
आशा भोसलेले आफ्नो करियरमा धेरै अवार्डहरू प्राप्त गरेकी छन् । यसमा ७ वटा फिल्मफेयर अवार्ड समावेश छन्, जुन उनलाई उत्कृष्ट महिला पार्श्वगायिकाको रूपमा प्रदान गरिएको थियो । साथै, उनले एक लाइफटाइम अचीभमेन्ट अवार्ड पनि प्राप्त गरेकी छन् । त्यसैगरी, उनलाई सन् २००० मा दादासाहेब फाल्के अवार्ड र सन् २००८ मा पद्म विभूषण जस्ता प्रतिष्ठित सम्मानहरू पनि प्रदान गरिएको थियो । सन् २०१३ मा आशा भोसलेले मराठी चलचित्र ‘माई’ मा अभिनय समेत गरेकी थिइन् ।