८ हजार मिटर अग्ला थप ६ हिमाल पहिचानभएकामध्ये ४ वटा ताप्लेजुङमा पर्छ । ती चार हिमालको दृश्य ओकताङबाट (दक्षिण) खिचिएको हो । तस्बिरः देवराज गुरुङ
मंसिर २६ गते । विश्वमा हाल ८ हजार मिटरभन्दा अग्ला जम्मा १४ वटा हिमाल छन् । तीमध्ये आठ वटा त नेपालमै पर्छन् । सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपुर्ण नेपालमा रहेका ८ हजार मिटरमाथिका हिमाल हुन् । बाँकी ६ पाकिस्तान र चीनको तिब्बत क्षेत्रमा पर्छन् । पाकिस्तानमा केटु, नंगा पर्वत, ग्यासहर्ब्रम पहिलो, ब्राड–पिक, ग्यासहर्ब्रम दोस्रो रहेका छन् भने चीन–तिब्बतको क्षेत्रमा सिसापाङ्मा रहेको छ। तर पछिल्ला वर्ष नेपालले परम्परागत ८ वटा ८ हजार मिटर अग्ला हिमालको सूचीलाई विस्तार गर्दै थप ६ वटा ८ हजारमाथिका नयाँ चुचुरो पहिचान गरी आधिकारिक सूचीमा समावेश गरेको छ। पर्यटन विभागले करिब १० महिनाअघि यी नयाँ हिमाललाई आफ्नो पिक–प्रोफाइलमा थप्दै आधिकारिक मान्यता दिइसकेको छ ।
नयाँ ६ हिमाललाई अन्तर्राष्ट्रिय समुदायले मान्यता भने दिइसकेको छैन । यी नयाँ हिमालमध्ये खुम्बु क्षेत्रमा पर्ने ल्होत्से शृंखलाका दुईवटा प्रमुख सहायक शिखर हुन् । ल्होत्से सार (८,४०० मिटर) र ल्होत्से सेन्टर ९८,४१० मिटर० । त्यसैगरी ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा चारवटा नयाँ शिखर पहिचान भएका छन् । जसमा कञ्चनजंघा सेन्टर (८,४७३ मिटर), कञ्चनजंघा साउथ (८,४७६ मिटर), यालुङखाङ (८,५०५ मिटर) र यालुङखाङ वेस्ट (८,०७७ मिटर) छन् । यी सबै चुचुरा ८ हजार मिटरभन्दा माथि उचाइ भएका कारण नेपालले अब कुल १४ वटा ८ हजार मिटर अग्ला हिमाल भएको देश भएको दाबी गर्दै आएको छ ।
थपिएका हिमालहरुको सुची ।
यद्यपि यी हिमाल सहायक शिखरका रूपमा वर्गीकृत छन् । केही वर्षअघि प्राविधिकहरूले यी हिमाल पहिचान गरेपछि नेपाल पर्वतारोहण संघले विशेष अध्ययन टोली गठन गरेको थियो । टोलीले यी सहायक हिमालको प्राविधिक मूल्यांकन, जीआईएस डेटा संकलन र आरोहण मार्गको अध्ययन गर्दै आइरहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले बताए । ‘नेपालले आधिकारिक सूचीमा यी हिमाल समावेश भइसकेका छन्, अब अन्तर्राष्ट्रिय मान्यता दिलाउन संघ सक्रिय छ। केही दिनमै हामी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकन्दप्रसाद निरौलासँग छलफल गरी अगाडिको प्रक्रिया अघि बढाउनेछौं ।’
पहिले नेपाल सरकारले यी हिमाललाई पूर्ण रूपमा मान्यता दिनुपर्ने उनी बताउँछन् । त्यसपछि मात्र अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) ले स्वीकृति दिनेछ । यूआईइएएले मान्यता दिएपछि मात्रै नेपाल १४ वटा ८ हजार मिटर अग्ला हिमाल भएको देशको रूपमा विश्वमै औपचारिक रूपमा चिनिनेछ । आईएए विश्वका ७३ देशका ९४ अल्पाइन तथा पर्वतारोहण संस्थाहरूको मान्यताप्राप्त महासंघ हो ।अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ यूआईएएले सन् २०२६ अक्टोबर २५–२६ मा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ ।यो सम्मेलनको अवसर बनाएर नेपालले पहिचान गरिएका ६ नयाँ ८ हजार मिटर अग्ला हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा आधिकारिक मान्यता दिलाउनुपर्ने नेपालका पर्वतीय पर्यटन व्यवसायीहरूको भनाइ रहेको छ । संघ र व्यवसायीहरूका अनुसार यी हिमालको मान्यता प्राप्त भएपछि नेपालमा आरोहण पर्यटनमा नयाँ अवसर खुल्नेछन् । नयाँ चुनौती खोज्ने आरोहीको आकर्षण बढ्नेछ भने पर्यटनबाट आउने आम्दानीमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । -ई कान्तिपुरको सहयोगमा ।