setoveda logo
४ वैशाख २०८३, शुक्रवार

हच्किनन् विद्या भण्डारी

साउन १०, २०८२, शनिवार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी 

साउन १० गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक नेकपा एमालेको पूर्वउपाध्यक्षको हैसियतमा सार्वजनिक भएकी छन् । शुक्रबार दिउँसो भण्डारीले एमाले पूर्वउपाध्यक्षको हैसियतमा पत्रकार सम्मेलन गरिन् । ११ कात्तिक २०७२ मा राष्ट्रपति हुनुअघि उनी एमाले उपाध्यक्ष थिइन् । दोस्रो कार्यकाल पार्टी उपाध्यक्ष रहेकी भण्डारीलाई एमालेले राष्ट्रपति बनाएर शीतलनिवास पठाएको थियो । राष्ट्रपतिमा पनि दुई कार्यकाल सकेर २०७९ फागुनमा शीतलनिवासबाट फर्किएकी भण्डारीले गत १४ असारमा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर भण्डारीले सदस्यता नवीकरण गरेको घोषणा गरेपछि एमालेभित्रको शक्ति संघर्ष नै बदलिएको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरुलाई भण्डारी सक्रिय राजनीतिमा फर्किएको मन परेको थिएन । ओलीले त सार्वजनिक मञ्चबाटै पटकपटक अझै २०र२५ वर्ष नेतृत्व नछोड्ने घोषणा गरेका थिए । ओलीलाई आजीवन अध्यक्ष हुन मिल्नेगरी एमालेको विधानहरू संशोधन गरिंदै थियो । तर भण्डारीको चुनौती रोकिएन, बरू अध्यक्ष बन्नेगरी राजनीतिमा फर्किएको सन्देश सार्वजनिक गरिन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी 

यस्तैमा मंगलबार मध्यरात सम्पन्न केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने निर्णय भयो । उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमतिमा आवाज उठाइरहँदा हो-हल्लाकै बीच भण्डारीलाई राजनीतिमा आउन रोक लगाइएको निर्णय भयो । भोलिपल्ट महासचिव शंकर पोखरेलले पत्रकार सम्मेलन मार्फत विद्या भण्डारीको पार्टी सदस्यता निष्क्रिय भएको जानकारी दिए । २०३७ सालमा भण्डारीले पाएको ६४४ नम्बरको पार्टी सदस्यता एमालेको वेबसाइटबाटै हटाइसकेको भण्डारी निकट नेताहरु बताइरहेका छन् । अर्थात् भण्डारीको पार्टी सदस्यता एकप्रकारले खारेज गरिएको छ ।

पार्टी नेतृत्वबाट भएको यस्तो अनपेक्षित निर्णयको जवाफ दिन आज पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेकी थिइन् । उक्त पत्रकार सम्मेलनमा भण्डारी एमालेका पूर्वउपाध्यक्षको हैसियतमा उपस्थित भइन् भने एमालेकै ब्यानर प्रयोग गरिएको थियो । यसअघि केही पार्टी कार्यक्रममा सहभागी भए पनि एमालेको ब्यानरमा भण्डारी पहिलोपटक उपस्थित भएकी हुन् । सूर्य चिह्न, नारामा जबज र मदन भण्डारीको तस्वीर राखिएको ब्यानर मुनि बसेर भण्डारीले आफू पूर्वराष्ट्रपतिबाट पूर्वउपाध्यक्ष बनेको सन्देश दिइन् । उनी निकट नेताहरु, यो पत्रकार सम्मेलनबाट विद्या भण्डारी थप अगाडि बढेको सन्देश गएको बताउँछन् । ‘विद्या भण्डारीका बारेमा पार्टीले अन्यायपूर्ण निर्णय गरेको छ । त्यसलाई सच्याउन यो पहिलो कदम हो, र उहाँले आफ्नो पोजिसन डिक्लिएर गर्नुभयो’, भण्डारी निकट नेता विनोद ढकाल भन्छन् । छोटो मन्तव्य मार्फत भण्डारीले पनि एमाले नेतृत्वको निर्णयबाट आफू विचलित नभएको सन्देश दिएकी छन् । -अनलाइनखबर