setoveda logo
४ वैशाख २०८३, शुक्रवार

घुसकाण्डमा जोडिइन् रञ्जिता : ‘क्यास चाहियो, ड्राइभर पठाइदिऊँ ?’

साउन ६, २०८२, मङ्गलवार

साउन ७ गते । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न भएको भेटिएको छ । राजीनामा दिएका मन्त्रीले रकम लिएका व्यक्तिसँग नै पूर्वमन्त्री श्रेष्ठले पैसा मागेको प्रमाण फेला परेको हो । अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटक–पटक सम्पर्क गरेको र पैसा समेत मागेको खुल्छ । उनले मन्त्रिपरिषद्‌ बैठकको सूचना आदानप्रदानदेखि आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) प्रयोग गरेर समेत पैसा मागेको खुलेको हो । पूर्वमन्त्री श्रेष्ठले ९८५१२८८८५४ नम्बरको फोनबाट पोखराका ती व्यक्तिसँग बारम्बार सम्पर्क गरेको र रकम समेत मागेको प्रमाण अनलाइनखबरले प्राप्त गरेको हो । तर पूर्वमन्त्री श्रेष्ठले आफूमाथिको आरोप प्रतिवाद गर्दै भनिन्, ‘मैले त्यसरी कसैसँग पनि पैसा मागेको छैन ।’

पूर्वमन्त्री रञ्जिता श्रेष्ठ 

पूर्वमन्त्री रञ्जिता श्रेष्ठ 

अख्तियार उच्च स्रोतले अनलाइनखबरलाई दिएको विवरण अनुसार पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग फोनमा म्यासेज गरेर, ‘‘।।जी, पशुपति पूजामा छु, क्यास चाहिएको छ । ड्राइभरलाई लिन पठाइदिँऊ रु’ भनी म्यासेज लेखेको भेटिएको हो । अख्तियार स्रोतका अनुसार, सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमिसुधार मन्त्री भइसकेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मन्त्रीलाई पैसा बुझाउने पोखराका ती व्यक्ति बीच निरन्तर सम्पर्क भएको खुलेको हो ।

‘त्यसमा पनि पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग निरन्तर फोन र म्यासेज गरेर काम अघि बढाइदिने आश्वासन दिएको भेटियो’ अख्तियारसम्बद्ध स्रोतले भन्यो, ‘श्रेष्ठले आफूलाई पैसा माग्नेदेखि सामान्य प्रशासनमन्त्री गुप्तालाई आवश्यक परेका कतिपय सामान समेत मगाएको भेटिएको हो ।’ अर्को म्यासेजमा पूर्वमन्त्री श्रेष्ठले ‘नरिवलको तेल एउटा लिन पठाइदिनुस् न, मन्त्रीज्यूलाई चाहियो’ भनेर म्यासेज लेखेको भेटिएको छ । उनले बारम्बार ‘आफू सामान्य प्रशासनमन्त्रीसँग मिटिङमा रहेको’ भनी म्यासेज लेखेको देखिन्छ । पोखराका ती व्यक्तिलाई मन्त्रीको पीएसओ भन्ने व्यक्तिले समेत म्यासेज गरेर ‘पैसाको कुरा कहिले हुन्छ रु’ भनेको विवरण भेटिएको छ ।

मन्त्रिपरिषद्‌को बैठक बस्दैछ भन्ने सूचनादेखि ‘मलाई मन्त्री गुप्ताले कल गर्दैछ’ भन्नेसम्मको कुराकानी फेला परेको अख्तियार स्रोतले बतायो । स्रोतले भन्यो, ‘पोखराको जग्गाका लागि मालपोतको कर्मचारी फेर्न जे जस्तो प्रयास भयो, त्यसमा नाउपा अध्यक्ष श्रेष्ठ संलग्न भएको देखिन्छ ।’ अनलाइनखबरसँगको प्रतिक्रियामा पूर्वमन्त्री श्रेष्ठले आफूले पोखराका ती व्यक्तिलाई कहिल्यै सम्पर्क नगरेको दाबी गरिन् । ‘‘‘।सँग न मेरो चिनाजान छ, न कहिल्यै सम्पर्क भएको छ’ उनले भनिन्, ‘चिन्दै नचिनेको मान्छेसँग पैसा माग्ने कुरै हुँदैन ।’ सामान्य प्रशासन मन्त्री गुप्तासँग भने आफ्नो कहिलेकाहीं सम्पर्क हुने गरेको भन्दै उनले आफ्नो निर्वाचन क्षेत्रका पालिकाहरुमा कर्मचारी खटाउने तथा खाली ठाउँमा पठाउनेबारे कुराकानी हुने गरेको बताइन् । उनले भनिन्, ‘त्यसबाहेकका विषयमा उहाँसँग कहिल्यै पनि कुराकानी र भेट भएको छैन ।’

उनले पोखराको जग्गाको विषयमा आफूलाई कहिल्यै जानकारी नभएको, त्यस विषयमा आफूले थाहा पनि नपाएको भन्दै पोखराका ती व्यक्ति र मन्त्री गुप्तासँग समेत आफ्नो कुनै कुराकानी र भेटघाट नभएको जिकिर गरिन् । उनले भनिन्, ‘हुँदै होइन, मैले कसैसँग त्यसरी पैसा मागेको छैन ।’

कास्की मालपोतमा रामचन्द्र लैजाने प्रयास

पोखरा बाटुलेचौर लिचीबारीको जग्गा छुट दर्ताका लागि भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले उपसचिव रामचन्द्र अधिकारीलाई कास्कीमा यथावत् राख्न चाहन्थिन् । तर उनको लमजुङमा सरुवा भयो, सरकार परिवर्तनसँगै मन्त्री श्रेष्ठ पनि पदमुक्त भइन् । पदमुक्त भएपनि उनले तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई पोखरा लैजान चाहन्थिन् । आफू पदमुक्त भएपछि पनि उनले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको सहयोगमा त्यो काम फत्ते गर्न चाहन्थिन् । स्रोतका अनुसार, प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीले तत्कालीन मन्त्री रञ्जिता श्रेष्ठसँग यति राम्रो सम्बन्ध बनाएका थिए कि अन्यत्रका कर्मचारीहरु पनि सरुवा गराउने क्षमता राख्थे ।

बाटुलेचौरको जग्गा दर्ता गर्न केही स्थानीय बासिन्दाहरुको सहयोग लिएर एक व्यक्ति ९जसले मन्त्री गुप्ताको अडियो रेकर्ड गरेका थिए०ले सहजीकरण गरेका थिए । उनले कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी र मन्त्री रञ्जिता श्रेष्ठलाई एकसाथ विश्वासमा लिएका थिए । अख्तियार स्रोतका अनुसार, त्यसक्रममा मन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग पैसा मागेको खुलेको हो । सोझै म्यासेज गरेर उनले पैसा माग्नेदेखि अरु सूचना आदानप्रदान गर्ने, मन्त्रिपरिषद बैठकबारे जानकारी दिने र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगको भेट र गतिविधिबारे जानकारी गराएको खुलेको हो ।

‘निवर्तमान मन्त्री गुप्ता र पोखराका ती व्यक्ति बीचको संवाद र लेनदेनमा अरु कैयौं पक्ष संलग्न छन् र तिनको छानबिन भइरहेको छ’ अख्तियार स्रोतले भन्यो, ‘खोज्दै जाने सिलसिलामा पूर्वमन्त्री श्रेष्ठ रकम माग्ने काममा संलग्न भएको खुलेको हो, यो प्रकरणमा जोडिएको उहाँ तेस्रो पात्र हुनुभयो ।’ -अनलाइनखबर