असार २७ गते । युरोपभरि बढेको उच्च तापक्रमका कारण डढेलो फैलिएको छ र उच्च तापका कारण पोर्चुगलामा दुई सय ८४ जनाको मृत्यु भएको छ । पोर्चुगल, ग्रिस, फ्रान्स, स्पेन र युरोपसित जोडिएको टर्कीका केही भागमासमेत डढेलो फैलिएपछि अग्निनियन्त्रक हेलिकोप्टर र जहाजहरूले पानीको वर्षा गरिरहेका छन् । तर डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
दक्षिणपश्चिम फ्रान्सको नार्बोन सहर नजिकैको ऑसिएरेस नजिकै लागेको डढेलो रोकथामका लागि अग्निनियन्त्रक विमानबाट अग्निरोधक पदार्थ जंगलमा खसालिँदै । तस्बिर : माथ्यु रोंडेलर एएफपी,रासस
पोर्चुगलमा हालसम्मकै सबैभन्दा उच्च ४६ दशमलव ६ डिग्री सेल्सियस पुगेको र २८४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य महानिर्देशनालय (डिजिएस) ले जनाएको छ। फ्रान्सको दोस्रो ठूलो सहर मार्सेईमा बुधबार बिहानैदेखि फैलिएको डढेलोले सयौँ घरहरु जलेका छन् । त्यहाँ सात सय अग्निनियन्त्रक, अग्निनियन्त्रक हेलिकोप्टर र जहाजबाट डढेलो निभाउने ग्यास र पानीको फोहोरा हान्दा पनि नियन्त्रणमा आउन नसकेको टिएफ १ न्युजले उल्लेख गरेको छ ।