हिमाली तोक्पेगोला पापुङ टिम । तस्बिरः गोलनेपाल
मंसिर ११ गते । पुरुष फुटबलमा अलैची पुरस्कार राखिएको मिक्वाखोला गाउँपालिका तेम्बामा विहिबार फाइनल खेल हुँदैछ । दिउँसो १ बजे हुने फाइनलमा हिमाली तोक्पेगोला पापुङ र गणेशचोक पाँचथर भिड्ने भएका छन् । खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डट कमबाट हुने भएको छ । पापङले रेड डेभिल्स इलामलाई ४–२ र गणेशचोकले ग्रीन भ्याली नाल्बुलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । फाइनल खेलमा मुख्य रेफ्री राष्ट्रिय रेफ्री विके थलङ र दिपेश आङवुहाङ र विपुल दाहाल तथा फोर्थमा सुसन लङवा जिम्मेवारी हुनेछन् । रेफ्रि इन्स्पेक्टर उदिपहाङ सावा र म्याच कमिश्नर डिल्ली साँवा रहेका छन् ।
गणेशचोक टिम पाँचथर । तस्बिरः गोलनेपाल
उपाधि विजेताले ३ लाख २ हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५२ हजार २ हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ । फङफङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार प्रथम पुरस्कार मूल्य बरावरको अलैची तयार गरिएको छ । अध्यक्ष साँवाले भने,‘घोषणा गरेजतिको मुल्य वरावरको अलैची जोखेर स्टेजमा राख्छौ । जितेपछि दिन्छौ ।’ चलनचल्तीको मुल्य अनुसार विहिवार साँवामा प्रतिमन अलैची ९४ देखि ९५ हजार मूल्यमा कारोवार भइरहेको छ । अध्यक्ष साँवाले भने,‘विजेता र उपविजेताले प्राप्त गरेको अलैची विक्री गर्ने व्यवस्था गर्छौ । समस्या छैन् ।’ खेलमार्फत अलैची र फङ्फङदेन झरनाको प्रचार प्रसार गर्नका लागि फुटबलको पुरस्कार अलैची नै राखिएको हो । प्रतियोगीता मंसिर ७ गतेदेखि भएको हो । गएराती सांस्कृतिक कार्यक्रम भएको छ । समापन कार्यक्रम जिल्ला समन्वय समिति प्रमूख छिरीङ लामाको प्रमूख आथिथ्यतामा सम्पन्न गर्ने भएको छ । कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले प्रतियोगीताको उद्घाटन गरेका थिए । करिब १९ लाख ५० हजार रुपैयाँमा प्रतियोगीता सम्पन्न हुने आयोजकले अनुमान गरेको छ ।
कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम र मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त वहादुर कार्की उद्घाटन सत्रमा ।