म्यापमा भाइरस फैलिएका र नफैलिएका जिल्ला
साउन १९ गते । साढे २ महिना अवधिमा देशभरि लम्पी स्किन रोगबाट २२ हजार बढी गाईभैँसी संक्रमित भएका छन् । पशुसेवा विभागका अनुसार २२ हजार २ सय ५६ गाईभैँसी लम्पी स्किन रोगबाट संक्रमित भएका हुन् । यो रोगका कारण हालसम्म ६ सय ३६ गाईभैँसी मरेको विभागले जनाएको छ ।
हालसम्म देशभरिबाट प्राप्त विवरण अनुसार संक्रमितमध्ये १२ हजार ३ सय २ वटा पशु उपचारपछि निको भएको र ७ हजार ८ सय ६६ अझै सक्रिय संक्रमित रहेका विभागका वरिष्ठ पशु चिकित्सक डा। नवराज श्रेष्ठले जानकारी दिए । सबैभन्दा बढी लम्पी स्किन रोगको संक्रमण कोशी प्रदेशमा भएको छ भने लुम्बिनी, गण्डकी र मधेस प्रदेशमा मध्यम छ । कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ११ जिल्लामा गाईभैँसीमा संक्रमण देखिएको छ ।
कोशी प्रदेशका झापा, मोरङ, इलाम, सुनसरी, उदयपुर, खोटाङ, धनकुटा, पाँचथर, भोजपुर, ताप्लेजुङ र तेह्रथुममा संक्रमण फैलिएको छ । तर संखुवासभा, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा भने संक्रमण देखिएको छैन । निर्देशनालयमा कार्यरत पशु चिकित्सक डा। पुरुषोत्तम पाण्डेका अनुसार कोशीमा हालसम्म २२ हजार १ सय २२ गाईभैँसीमा लम्पी स्किन संक्रमण देखिएको छ । संक्रमित पशुमध्ये ६ सय ३७ को मृत्यु भइसकेको छ । तथ्यांक अनुसार कुल संख्यामध्ये कोशीमा संक्रमित राँगा र भैँसी संख्या २ सय २४ छ भने गाईगोरु संख्या २१ हजार ८ सय ९८ छ ।
सबैभन्दा धेरै झापामा १४ हजार ६ सय ९२ पशु रोगबाट प्रभावित छन् भने मोरङमा २ हजार ४ सय ३६ र सुनसरीमा १ हजार ७ सय ५७ पशु प्रभावित छन् । कुल संख्यामध्ये कोशीमा संक्रमित राँगा र भैँसी संख्या २ सय २४ छ भने गाईगोरु संख्या २१ हजार ८ सय ९८ छ । यस्तै इलाममा २ हजार ४२, भोजपुरमा ९७ र सबैभन्दा थोरै तेह्रथुममा ५ र पाँचथरमा १२ वटामा लम्पी स्किन संक्रमण देखिएको छ । पशु चिकित्सक डा। पाण्डेले ११ साउनपछि एक साता अवधिमा १ हजार ५ सय ३२ पशु रोगबाट प्रभावित भएको बताए । एक सातामै यो रोगका कारण ८२ पशु मरेका छन् । कोशी प्रदेशमा हालसम्म ३ लाख १२ हजार ६ सय ४१ डोज खोप लगाइएको छ । लम्पी स्किन रोगका कारण कोशी प्रदेशमा मात्रै १ अर्ब ८ करोड रुपैयाँ बराबर आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।